काठमाडौं, वैशाख ३ ।
नेपालले १९ वर्ष मुनिको विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा ओमनलाई १५० रनले पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमन ४५ औं ओभरको पहिलो बलमा ७९ रन बनाउँदै ‘अल आउट’ भएपछि १५० रनको पराजय व्यहोर्न बाध्य भयो ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभर दुई बलमा सबै विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए । त्यस्तै प्रतीष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५, रित गौतमले १० रन बनाए ।
पुछारमा ब्याटिङका लागि आएका प्रतीष जिसीले विस्फोटक ब्याटिङ गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पु¥याएका हुन् । १७६ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा उनी मैदानमा प्रवेश गरेका थिए । लगत्तै नेपालले कमलसिंह ऐरीका रुपमा अर्को विकेट गुमायो । १७८ रन बनाउँदा नौ विकेट गुमाइसकेको अवस्थामा जिसीले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ४१ रन बनाए । उनले दुई चौका र चार छक्का प्रहार गरे ।
जवाफी ब्याटिङमा उत्रिएको ओमनका लागि अमनप्रित सिराह र जील टन्नाले १३–१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालका लागि पवन शराफले कसिलो बलिङ गर्दै १० ओभरमा २४ रन दिएर तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका कुशल मल्लले १२ रन दिएर एक विकेट लिए । प्रतीष जिसी र सूर्य तामाङले दुई–दुई विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो । तीन खेलमा जित र एक हार व्यहोरेको नेपालले विश्वकपका लागि छनौट हुने सम्भावना जीवित राखेको छ । तर त्यसका लागि नेपालले आफ्नो बाँकी खेल जित्नुपर्नेछ भने युएईले कम्तिमा एक खेल हार्नुपर्नेछ ।