धनगढी, २८ चैत ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको कार्यकर्ता लाई सघाएको आरोपमा प्रहरीले ४ महिने शिशुसहित एक महिलालाई हिरासतमा लिएको छ
हिरासतमा रहेका देवर रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर कैलालीको गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको हो ।
सीताका अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर-भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिएको छ ।
५ बच्चाकी आमा रहेकी सीतालाई प्रहरीले हिरासतमा राखेपछि उनका घरमा ४ जना बच्चाहरूको बिचल्ली भएको पुरनले दुखेसो सुनाए । सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई विप्लव कार्यकर्ता भन्दै प्रहरीले हिरासतमा लिएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक खडकराज जोशीले हिरासतमा लिएकोबारे आफूहरूले पनि अनुसन्धान शुरू गरेको बताए । कसैसँग नाता भएकै कारण, घरमा बस्न दिएकै कारण, त्यो पनि दुधे बालकसहित हिरासतमा राख्नु प्रहरीको नियत गलत रहेको भन्दै सीतालाई हिरासतमुक्त गर्नुपर्ने संयोजक जोशीको भनाइ छ ।
तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले सीतालाई पार्टीको भएको कारण नियन्त्रणमा लिएको दाबी गरे ।
५ जना नेता हिरासतमै
जिल्ला प्रहरी कार्यालय कैलालीले हालसम्म विप्लव नेेेेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आरोपमा रुपलालसहित ५ जनालाई गिरफ्तार गरेको पार्टी स्राेेेतले जनाएको छ ।
बुधवार सो पार्टीको २ जना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दगोरिया गाँउपालिका जनसरकार प्रमुख अमर बम र अखिल क्रान्तिकारी किसान संघका कैलाली अध्यक्ष उदयराज थापा रहेका छन् भने यसअघि कैलारी गाउँपालिका–५ गोबरैलाका आशिष चौधरी र लम्की चुहा नगरपालिका-१ लम्कीका ध्रुव सञ्ज्याललाई नियन्त्रणमा लिइसकेको छ ।
तर नियन्त्रणमा रहेको चौधरी र सञ्ज्याल आफ्नो कार्यकर्ता नभएको सो पार्टी स्रोतले जनाएकाेे छ ।