कपिलवस्तु, चैत २८ । कपिलवस्तु र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सेनाका हवल्दार सहित दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको वुद्धभूमि नगरपालिका–१ वसन्तपुर नजिक भएको दुर्घटनामा सेनाका हवल्दारको मृत्यु भएको छ । बुधबार राति लु२ख २२८० नम्बरको टिपरले ठक्कर दिँदा बुटवल बस्ने सैनिक हवल्दार राजेन्द्र थापाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार थापा सवार लु१९प ६८१ नम्बररको मोटरसाईकललाई वसन्तपुर नजिकको जंगलमा टिपरले ठक्कर दिएको थियो । उपचारका लागि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
उता, मोरङको सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकमा कारको ठक्करबाट मोटरसाईकलमा सवार २२ बर्षिय हेम चौधरीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को१५प ९९७८ नम्बरको मोटरसाईकललाई राति ९ बजे ठक्कर दिएको थियो ।
कारको ठक्करबाट मोटरसाईकल चालक ईटहरी उपमहानगरपालिका–८ बस्ने वर्ष २२ को प्रकाश चौधरी र मोटरसाईकलको पछाडी सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा हेम चौधरीको राति साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने कार र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।