बुटवल, २७ चैत ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आजबाट सुरु हुँदै छ। वैशाख ५ गते औपचारिक उद्घाटन हुने भए पनि अधिकांश खेलहरू भने आजैबाट सुरू हुन लागेका हुन् । प्रतियोगिताअन्तर्गत पाँच जिल्लामा पाँच खेल आजबाट सुरु हुने छ।राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेल हुँने छ ।
बुधवार रुपन्देहीको बुटवलमा लन टेनिस हुनेछ।दाङको घोराही कभर्ड हलमा टेबुल टेनिस पनि आजदेखि नै हुँदै छ। कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा कुस्ती, बाँकेको मंगलप्रसाद माविमा पुरुष हक्की पनि आजबाट नै हुँदै छ। यस्तै स्क्वास प्रतियोगिता भने ललितपुरमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
लन टेनिसमा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, एपीएफ, त्रिभुवन आर्मी र एनआरएन गरी ६ टोलीको सहभागिता छ। प्रतियोगितामा विभिन्न उमेर समूहमा २८ पुरुष र १५ महिला खेलाडी रहेका छन् ।
लन टेनिससहित रुपन्देहीमा ६ खेल हुने छन्। सबै खेलको तयारी पूरा भएको आयोजकले जनाएको छ। राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ५ को बाँकेमा सबैभन्दा धेरै खेल हुने छन्। कपिलवस्तु, बर्दिया, दाङ, रुपन्देही, बाँके, कास्की, काठमाडौं र ललितपुरमा विभिन्न खेल हुँदै छन्।
रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले रुपन्देहीमा हुने प्रतियोगिताको तयारी सकिएको बताए।रुपन्देहीमा हुने अन्य खेलमध्ये पुरुष फुटबल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टर, पुरुष क्रिकेट सिद्धार्थ रंगशाला भैरहवा, तेक्वान्दो भैरहवाको ब्याडमिन्टन कभर्ड हल, शारीरिक सुगठन बुटवलको कान्ति माविमा हुने छन्। पुरुष फुटबल वैशाख ४ देखि सुरु हुनेछ भने शारीरिक सुगठन वैशाख ६ गते हुने जनाइएको छ। भैरहवामा पुरुष क्रिकेट वैशाख ३ बाट सुरु हुने छ। प्रतियोगिताको समापन नेपालगन्ज रंगशालामा वैशाख ११ गते हुने छ।
उता, प्रदेश नम्बर ५ को नेपालगन्जमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च सातवटै प्रदेशमा लगिने जनाइएकाे छ । र्याली चैत २९ देखि प्रदेश १ को केन्द्र विराटनगरबाट सुरु हुने छ ।