नुमकलालको नुर

नुमकलालको नुर

  • शनिबार, चैत्र २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

भैँसीको नथ्थीमा नाकी उनेर
मैले भैँसी डोर्याएँ
र त्यहि भैँसीको पिठ्युमा बसेर
तिमीले भैँसी चरायौ !
झोलामा कापी र पेन्सिल बोकेर
म स्कुल गएँ
र त्यहि कापीका पानाहरू
सुटुक्क पल्टाएर
तिमीले कक्षामा बाह्रखरी लेख्यौ !
…………………..

एक दिनको कुरा हो !
तिमी ओरालो झर्यौ
सायद,
तिम्रो बाटो त्यहि थियो !
म उकालो उक्लिएँ
सायद,
मेरो बाटो नि यहि थियो !
………………….

समय त गति हो !
रोकेर कहाँ रोकिन्छ र ?
जसरी घुमिरहेछ – यो पृथ्वी
उसै गरि घुमिरहेछ
समयको यो बाटुलो चर्खा पनि !
छोटे मालिक !
सायद, एकै दिन हुनुपर्दछ
फौजीमा भर्ती भएर
हामी दुबै उत्पातले रमाएको त्यो दिन !
………………..

माटोको कलिलो मुटु कुल्चिएर
तिमी त –
फगत, मुकुटको लागि लड्यौ !
म त –
देश हराएको मान्छे !
त्यहि माटोमा सपना रोपेर
आफैभित्र एउटा देश भेटाउनलाई म लडेँ !
…………………..

बारुदको भयावह धुन सुनेर
जब नाच्न थाल्यो
युद्धको डोजर छमछमी – श्रीपेजको शीरमाथि !
तब शीसाको महलझैँ चर्कदै झर्यो
कालो इतिहासको खोकिलाबाट – दरबारको अनुहार !
ठिक यो बेला
सडकमा ओर्लिए
बालसिरी ठोकिएका आवाजहरू
र तमासले गाइरहए – यो धर्तीका आदिम गीतहरू !
…………

बस !
तिमीले हार्यौ
र मैले जितेँ !
…………..

बर्षौँपछिको कुरा हो !
तिमी त जर्नेल
जङ्गी अड्डामा घाम तापिरहेछौ !
म त गोठालो हुँ
खाडीको तातो रम्बलमा भेडा चराइरहेछु !
पेटभित्रको ज्वाला निभाउन
पुरानो लालढड्डामा तिमी नाम लेखाइरहेछौ !
तर म त,
देशको भोक मेटाउन
आफ्नै गाँस चुंडाएर रेमिट्यान्स पठाइरहेछु !
……………………

तिमीलाई चिन्ता होला
शान बढाएर
कुममा जगमगाइरहेका फुलीहरू गन्न !
अथवा,
डि. भि. चिठ्ठाको लिस्टमा नाम हेर्ने !
मलाई नि चिन्ता छ
एउटा निर्वस्त्र भोकले डसेर
धाँजा फाटिरहेको जिन्दगी कसरी टाल्ने ?
अथवा,
बूढी आमाको थोत्रो पेटानी कसरी फेर्ने ?
फरक छन्
सबै कुराहरू – शासक र शासित !
……………………

हो, मालिक !
तिमी विक्रमसिंह थापा हौ
तर म त,
तिम्रो हलिया नुमकलाल थारू हुँ !
यतिखेर
तिमीसँगै छ – तिम्रो सिङ्गो देश पनि !
साँच्चै, मालिक !
मसँग त,
यो भूगोलमा अटाउन नसकेर
सँधैसँधै दुखिरहने
एउटा आदिबाशी मन मात्र छ – यो बेला !
**********
२०७१ फागुन २
प्रथा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी