काठमाडौं, २३ चैत ।
रोहित पौडेलको कप्तानीमा रहेको अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न नेपाली युवा टोली शनिवार मलेसिया जाँदैछ ।
आगामी वर्ष साउथ अफ्रिकामा हुने प्रतियोगीतामा सहभागीता जनाउन नेपाली टोली दिउँसो सवा १ बजे मलेसिया प्रस्थान गर्ने टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिए ।
टोलीमा पौडेलसँगै अभिषेक बस्नेत, भीम सार्की, हरी बहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ र प्रतिश जिसी रहेका छन् ।
त्यस्तै, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र सूर्य तामाङ् पनि टोलीमा रहेका छन् । प्रशिक्षक बिनोद दाससंगै टेक्निकल एनालिष्ट रमन सिवाकोटी र फिजियो बिक्रम न्यौपाने पनि टोलीसँगै रहनेछन् ।
२७ गतेबाट सुरु हुने छनोट खेलमा नेपालले आयोजक मलेसियासँगै यूएई, ओमान, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा २९ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
दोस्रो खेलमा नेपालले ३० गते यूएई, तेस्रो खेलमा २ गते मलेसिया, चौंथो खेलमा ३ गते ओमान र समूहचरणको अन्तिम खेलमा ५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
समूहको शीर्ष स्थानमा रहने टोलीले विश्वकप क्रिकेट खेल्ने अवसर पाउनेछ । एसियाली छनोटमा नेपाल र यूएई उपाधिका मुख्य दाबेदार टोली हुन् ।