१८ चैत, काठमाडौं ।
न्याय परिषदले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मीसहित पाँच जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फुयाँल महान्यायाधिवक्ता नियुक्त भएका थिए । वकिलहरुबाट मनोजकुमार शर्मा सर्वोच्चको न्यायाधीश सिफारिसमा परेका छन् । पीएचडी होल्डर शर्मा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन् ।
प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।
यस्तै उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ । अर्का दावेदार कुमार चुडालको नाम भने सिफारिस भएन ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ५ जना मध्ये फुयाँल र रेग्मी दुबैजना प्रधानन्यायाधीश हुने लाइनमा हुनेछन् । उनीहरु सपना मल्ल प्रधानपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । यससँगै वि. सं २०९० सम्म न्यायालयको नेतृत्व ‘लगभग’ तय हुने न्याय परिषद्का अधिकारीहरुको भनाई छ ।
अहिले चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश छन् । उनीपछि प्रधानन्यायाधीश हुने रोलक्रममा हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत पर्छन् । त्यसपछि सपना मल्ल, कुमार रेग्मी र हरि फुयाँल प्रधान प्रधानन्यायाधीश हुने रोलक्रममा आउनेछन् ।