वीरगञ्ज, १८ चैत।
आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले राससलाई बताउनुभयो ।
अहिले उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
यसैबीच,गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गर्नुभएको छ ।
गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो ।
आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गर्नुभएको छ ।
उहाँले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।