सायद चिन्दैनौ होला कमरेड
तिम्रो भाषण चाख मानेर सुन्ने
तिम्रो प्रशिक्षणमा मुक्ति देख्ने
तिमीले गरेको कासन पूरा गराउन लागिपर्ने
आफ्ना सन्तानलाई
हाँसीहाँसी विप्लवी सङ्घर्षमा
होमिन प्रोत्साहन गर्ने तिनै बूढी हजूरआमा !
आज चिन्छौ त कमरेड ?
सायद चिन्दैनौ !
तिमीमाथि दागिएको गोली
आफ्नै छातीमा थापेर सहिद भएको
एक मात्र छोराको लासमा
एक टक हेर्दै
टिल्पिलाएका आँखा पुछ्दै
भक्कानिएको आवाजमा
मुटु दह्रो पार्दै
भगवान्लाई सराप्ने
अरू छोरा नजन्मिएको गुनासोमा
तिनै बूढी हजूरआमा !
चिन्छौ त कमरेड ?
सायद चिन्दैनौ !
तिम्रो अनुहारमा
आफ्ना सन्तानको भविष्य देख्ने
तिमी बिरामी हुँदा दुःखी हुने
तिमीलाई जोगाउन
औँसीको निष्पट्ट अँध्यारो
र कठ्याङ्ग्रिँदो जाडो
नाङ्गा खुट्टामा बिझेका अनगिन्ती काँडा
सिस्नो र अल्लोको परबाहै नगरी
मध्यरातमा
अनकन्टारमा ठिङ्ग उभिएको
थोत्रो घरको बुइँगलमा
ढिँडो र गुन्द्रुकको झोल सेलाउन नदिई
पुर्याएर खुवाउने
तिनै बूढी हजूरआमा !
चिन्छौ त कमरेड ?
सायद चिन्दैनौ ?
प्रहरीको घेराबाट जोगाउन
बुइँगलको एउटा कुनामा
तिमीले त्यागेको
शौच र बिस्टाले भरिएको कोपरा
छचल्किएर शरीरमा लागेको
छिट्टाको परबाह नगरी
सपनाको मीठो कल्पनामा रमाउँदै
तिमी लुकेको बुइँगल सफा गरिदिने
नाबालक सन्तान जस्तै सम्झिने
तिनै बूढी हजुरआमा
चिन्दछौ त कमरेड ?
सायद चिन्दैनौ !
तिम्रो टाउकाको मोलको लोभमा नपरेर
तिम्रो कासन पूरा गर्न लागिपरेको
बुट, बन्दुक र बारुदलाई हराउँदै
मृत्युको मुखैबाट फर्किएको नाति
सत्ताको उम्मादले मातिएर
नरपिपासुहरूले कोतरेका
छोरी–बुहारीका क्षतविक्षत बलात्कृत लास
तिमीलाई बुइँगलमा लुकाएको उपहार
तर पनि
छहारी बनेर सतिसालजस्तै
ठिङ्ग उभिएकी
तिनै बूढी हजूरआमा
चिन्छौ त कमरेड ?
सायद चिन्दैनौ !
साहूको कब्जामा परेको त्यो थोत्रो घर
निखन्ने भरोसा
गोली, बारुद गाडिएको घाइते शरीर
उपचारको आशा
अभाव, पीडा र अनगिन्ती सपना बोकेर
खाडीमा पुगेको नाति
काठको बाकसमा फर्किंदा
कत्ति पनि विचलित नभई
आउँदो पुस्ताले
फेरि सङ्घर्ष गर्न नपरोस् भन्ने विश्वासका साथ
जनताको राज्य स्थापित हुन्छ भन्ने
आशाको आश्वासन दिने
तिनै बूढी हजूरआमा
चिन्छौ त कमरेड ?
सायद चिन्दैनौ !
भोको पेट
अनगिन्ती प्रश्न
हिजो तिमीलाई जोगाउन गरेको त्याग
तिम्रो सल्लाहकारको भव्य रिसोर्ट बनेको
त्यो थोत्रो घर
तिम्रा सहयोगी बनेका ती
वैदेशिक रोजगारीका ठेकेदार
तिम्रो टाउकाको मोल तोक्दै
छोरी–बुहारीको अस्तित्व लुटने नरपिचास
तिम्रो विश्वाशिलो अङ्गरक्षक
अनि तिम्रो फेरिएको वर्ग
अलिकति पनि बचेको छ भने मानवता
तिमीले विदेशबाट ल्याएको
त्यो महङ्गो कालो चस्मा खालेर त हेर
आज सडकको पेटीमा
तिमीले त्यागेको शौच र बिस्टाको छिटाले
लतपत बर्को र पछ्यौरी
अनि
हड्डि ढाँचामा मात्र बेरिएको
चाउरी परेको सुक्खा छाला
अलपत्र गनाएको लासभित्र
तिनै बूढी हजूरआमा !
चिन्छौ त कमरेड ?
सायद चिन्दैनौ !
सायद चिन्दैनौ होला कमरेड !
- अग्निराज पौडले ‘अराप’