काठमाडौँ, १६ चैत.।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिवार ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।
मनोहरा नदी सफाइको १०७ औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर निकालिएको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए।
सफाइमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी भएका थिए । सफाइपछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले नदीमा फोहर नफाल्न स्थानीयवासीलाई अनुरोध गरे।
टोल सफाइमा सबै जुटे नदीमा फोहर जम्मा नहुने उनको भनाइ थियो ।
वाग्मती सफाइ महाअभियानको ३०७ औँ हप्तामा टेकु दोभानस्थित वाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर निकालिएको छ । आजको सफाई कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, चीनका लागि नेपाली राजदूत एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, सचिव गोपीनाथ मैनाली, सफाइ अभियानकर्मीलगायत एक हजार ५०० भन्दा बढी अभियानकर्मीको सहभागीता थियो ।
सफाइपछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइमा सबैको योगदान हुनुपर्ने बताए ।
गुह्येश्वरीमाथिको नदी सफाइको २६८ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेजअघिको नदी किनारमा सफाइ गरि तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
उता रुद्रमती सफाइ अभियानको २६२ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । भने विष्णुमती सफाइको २३४ औँ हप्तामा तारकेश्वर नगरपालिका र टोखा नगरपालिका बीचको सङ्गमस्थल मनोहर तीर्थबाट मनमैँजुसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिईन् ।
वाग्मतीको तिलगङ्गा क्षेत्रमा २०८ औँ हप्ताको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११७ औँ हप्ताको सफाइ गरि एक मेट्रिक टन फोहर निकालिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए ।
यस्तै चक्रपथ सफाइ अभियानको १०३ औँ हप्तामा वसुन्धारा चोक क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिए ।
सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन सकेको छैन । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ ।
वाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन । वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०३ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य क्षेत्रमा आज त्यहाँका युवाले सफाइ गरेको स्थानीय भुवन लामाले बताए ।