विराटनगर, १५ चैत ।
जिल्ला अदालत मोरङले विराटनगर–९ को एक रेष्टुरेन्टकी सञ्चालकसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
जिल्ला अदालतले टिफिन रेष्टुरेन्टकी सञ्चालक ३२ वर्षीया प्रिया भनिने पुर्णिमा श्रेष्ठ र त्यही काम गर्ने कल्पना भनिने टीका चौधरीलाई होटलमा आउने युवतीलाई काममा लगाइदिने भन्दै जबरजस्ती यौन धन्दामा लगाएको अभियोगमा बिहीबार थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासको आदेश लगत्तै उनीहरुलाई कारागार चलान गरिएको सूचना अधिकारी युराज पौडेलले जानकारी दिए।
पौडेलका अनुसार दुवै जनालाई मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ६७(१) ख बमोजिम थुनामा राख्न आदेश दिएको छ।
प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पारेर श्रेष्ठ र चौधरीसहित फरार रहेका विराटनगर–४ दूधफारमका २८ वर्षीय सञ्जय श्रेष्ठलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो।
रेष्टुरेन्ट सञ्चालिका श्रेष्ठ र उनीसँगै काम गर्ने चौधरीले विभिन्न जिल्लाबाट रोजगारीका लागि आएका युवतीलाई जागिर दिने प्रलोभन देखाउँदै जबरजस्ती यौन धन्दामा लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।
दुवै जनालाई प्रहरीले गत फागुन ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो।