ललितपुर, १० चैत ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का स्थायी समिति सदस्य एवं मध्य केन्द्रीय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश वली सुदर्शनलाई आज ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।
उनीसँगै गिरफ्तार गरिएका अन्यलाई पनि उपस्थित गराइएको छ । शुक्रबार राति ४ बजे काभ्रेबाट गिरफ्तार नेता सुदर्शनसहित नौ जनालाई जनतासँग नियमित राजनीतिक भेटघाटका क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । उपस्थित गराइएको टोलीमा शंकर अधिकारी, धर्मराज राजवाहक, विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, देव घिमिरे, लोकेन्द्र खड्का, सञ्जीव कार्की, ललित तामाङ रहेका छन् ।
गिरफ्तार गरेको दुई दिनपछि मात्र उनीहरुलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । सबैजनाविरुद्ध संगठित अपराध कसुर गरेको अभियोग लगाइएको छ । ईन्चार्ज सुदर्शन चश्मा, निलो स्वीटर र कालो प्यान्टमा हत्कडीसहित अदालतमा उपस्थित भएका छन् । उपस्थितिका गराउन प्रहरीको बा १ ग ३२९३ नम्बरको मिनी भ्यानमा राखेर अपरान्ह पौने २ बजे लगनखेलस्थित जिल्ला अदालत परिसरमा ल्याइपुर्याइएको थियो ।
नेता सुदर्शन लगायत अभियुक्तहरुलाई ल्याउनुअघि एकघण्टादेखि अदालत परिसरमा सुरक्षा चेकजाँच कडा बनाइएको थियो । सादा पोशाकका दर्जनौं प्रहरी त्यहाँ खटाइएको थियो । म्याद थपबारे अहिले बहस जारी छ । अभियुक्तहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता राजु अधिकारीलगायतले बहसमा भाग लिएका छन् ।
सरकारले गएको फागुन २८ गते साँझ ने.क.पा.माथि प्रतिबन्धको घोषणा गरेयता ने.क.पा.का गिरफ्तार गरिएभित्रका सुदर्शन अहिलेसम्म उच्च नेता हुन् ।
ने.क.पा.माथि लगाइएको प्रतिबन्ध खारेजीको माग भइरहेका अवस्थाबीच सरकारले उसका नेता, कार्यकर्ता, समर्थक र सहयोगीसमेतलाई रातको समयमा समेत खोजीखोजी गिरफ्तार गर्ने कार्यलाई पछिल्लो चरणमा तीव्र पार्दै लगेको छ । जसको नागरिक अगुवा, बुद्धिजीवि, विद्यार्थी, संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायत राजनीतिक दलहरुले सरकारको कदमको चर्को विरोध गरिरहेका छन् ।
तस्बीर: फाइल