विराटनगर, ९ चैत । मोरङको कानेपोखरी गाउँपालिका–७ मा गुडिरहेको कन्टेनरमा टाटा सुमो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रुबाहक टाटा सुमो ठोक्किदा दुर्घटनामा चालकसहित अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगर रहेका छन् । आछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए।
काठमाडौंबाट यात्रु लिएर झापा जाँदै गरेको टाटा सुमो बिहान ५ बजे कन्टेनरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते हुनेमा गौरादह–४ की ५५ वर्षीया दुर्गा मगर, १४ वर्षीया प्रविका मगर, ३८ वर्षीया बबिता मगर, ४५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ रहेका छन्। त्यसैगरी सुमो चालक झापाको दमक नगरपालिका–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी पनि घाइते भएका छन्। घाइते मध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते प्रविका र बबिता मृत्यु भएका प्रकाशका छोरी र श्रीमती हुन्।
घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।