त्यो हाँसो र त्यो मौनता !
एउटै बर्गका
एउटै पार्टीका
एउटै बिचार र बाटाका
दुई सहयात्री
एउटा गुरु र एउटा चेला
यसरी कुनै दिन
गुरु गद्दार र चेला चे बन्ने बाटोमा लाग्लान
यसरी कस्ले सोच्ने त्यो बेला !
त्यो उन्मुक्त हाँसो र
त्यो कप्टी मौनतामा
सायद त्यो समय पनि थिए-
आज गद्दार हुने र बागी हुने भ्रुण !
एउटै गोलीले सँगै ढल्न सक्ने
एउटै कात्रोले सँगै वेरिन सक्ने
एउटै चिहानमा सँगै निदाउँन सकिने
एउटै क्षतिमा सँगै रुने
र एउटै जीतमा सँगै हाँस्ने
अहो त्यो मौसममा
कसैले देखेन भोलिको गद्दार
र कसैले देखेन भोलिको चे !
मौसम वदलियो
मोर्चा बदलियो
बाटो वदलियो
र बिचार वदलियो
वदलियो मर्नु र वाँच्नु को अर्थ
वदलियो गिर्नु र उठ्नुको मनितो
परिस्थितिले यसरी छल गर्यो कि-
कपटी मौनता क्रुर गद्दारीमा वदलियो
उन्मुक्त हाँसो वारुधको फूलमा वदलियो !
एउटै शिकार गर्न हिडेका
दुई शिकारी जोडी
समयको क्रुर झपडपछि भेटिए-
एक अर्काको शिकार गर्न उद्दत !
त्यो कप्टी मौनता
र त्यो उन्मुक्त हाँसो
एक स्मृतिचोट बनेर आज
घोचिरहेछन हामीलाई !
-बलराम तिमल्सिना
२०७५|११|३०
सल्लाघारी