यस्ताे छ क्लारा जेट्किन र लेनिनवीचको दुर्लभ संवाद

यस्ताे छ क्लारा जेट्किन र लेनिनवीचको दुर्लभ संवाद

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

क्लारा जेटकिन विश्व महिला मुक्ति आन्दोलनका अगुवा एवं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका संस्थापक हुन् । सन् १८५७ जुलाई ५ मा जर्मनीको लिपगिजमा जन्मेकी उनले आफ्नो सम्पूर्ण जीवन महिला मुक्तिका लागि अर्पिन् । महिला वर्गलाई आफ्नो मुक्ति एवं हक अधिकारका लागि विश्वव्यापी रुपमा आन्दोलनमा उतारेकी उनी १९ औं र २० सौं शताव्दीमा अति नै चर्चित विश्वविख्यात महिला थिइन् ।

सन् १९१७ मा लेनिन र बोल्शेविक पार्टीको नेतृत्वमा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । रुसमा सोभियत समाजवादको स्थापना भयो । लेनिनका अनुसार सोभियत समाजवादी क्रान्ति महिला मुक्तिको क्रान्ति पनि थियो । सोभियत क्रान्तिअघि र पछि पनि क्लारा जेट्किन र लेनिनबीच महिला मुक्ति आन्दोलनको सन्दर्भमा थुप्रै छलफलहरु भए । ती दुई विश्व नेताहरुबीच राम्रो सम्बन्ध सम्पर्क पनि थियो । उनै विश्व महिला मुक्ति आन्दोलनकी नेतृ क्लारा जेटकिनले लेनिनबारे संस्मरण लेखेकी छन् ।

विश्वको पहिलो समाजवादी क्रान्ति रुसी अक्टोबर क्रान्तिका नायक लेनिनसँग निकट रहेकी विश्व महिला नेतृ क्लारा जेट्किनले लेनिनबारे लेखेको संस्मरण यहाँ प्रस्तुत गरिन्छ । – सम्पादक)

कमरेड लेनिनले महिलाहरुको समस्यामाथि मसँग बारम्बार विचार—विमर्श गर्नुभयो । उहाँका अनुसार महिलाहरुको सामाजिक समानता कम्युनिष्टहरुका लागि एउटा सैद्घान्तिक तथा निर्विवाद कुरा हुन्छ । यस विषयमा हाम्रो पहिलो लामो कुराकानी सन् १९२० को हिउँदमा लेनिनको क्रेमलिनस्थित बृहत् अध्ययनकक्षमा भएको थियो ।
उहाँले आफ्ना भनाइ सुरु गर्दै भन्नुभयो, “हामीले स्पष्ट तथा निश्चित सैद्घान्तिक आधारमा एउटा बलियो अन्तर्राष्ट्रिय महिला आन्दोलन अवश्य नै खडा गर्नुपर्छ । स्पष्ट छ कि माक्र्सवादी सिद्घान्तविना राम्रो व्यावहारिक काम हुन सक्दैन । यस विषयमा पनि हामी कम्युनिष्टहरुलाई बढीभन्दा बढी सैद्धान्तिक स्पष्टताको आवश्यकता छ । हामीले अरु सबै पार्टीहरुबाट आफूलाई पूर्णतया अलग गर्नुपर्छ । दुर्भाग्यवश, हाम्रो दोस्रो अन्तर्राष्ट्रिय कांग्रेसले महिलाहरुको प्रश्नमाथि गम्भीरता देखाउन सकेन । मामिला आयोगमै अड्कियो । आयोगले एउटा प्रस्ताव, थेसिस र एउटा ठोस लाइन तयार गर्नुछ । तर, अझसम्म त्यसको काम धेरै अगाडि बढेको छैन । तपाईंले त्यसलाई मद्दत गर्नुपर्छ ।”

जुन कुरा लेनिनले मसँग भनिरहनुभएको थियो त्यो मैले पहिल्यै सुनिसकेकी थिएँ र त्यस विषयमा आफ्नो समस्या पनि जाहेर गरिसकेकी थिएँ । रुसी महिलाहरुले क्रान्तिको क्रममा जे—जति गरेका थिए, त्यसको रक्षा तथा विकासका लागि उनीहरु जे—जति गरिरहेका थिए त्यसबाट म उत्साहित थिएँ । जहाँसम्म बोल्सेविक पार्टीभित्र महिलाहरुको हैसियत तथा गतिविधिको प्रश्न छ, मलाई लाग्छ यस विषयमा त्यो आदर्श हो । सिर्फ यसैले उपयोगी, प्रशिक्षित एवं अनुभवी ताकतको माध्यमबाट अन्तर्राष्ट्रिय महिला आन्दोलन निर्माण गरेर ऐतिहासिक उदाहरण कायम गरेको छ ।

लेनिनले हल्का मुस्कुराहटका साथ भन्नुभयो, “यो सही हो, बिलकुल सही । पेत्रोग्रादमा, यहाँ मस्कोमा तथा अन्य शहरहरु एवं औद्योगिक केन्द्रहरुमा महिला मजदुरहरुले क्रान्तिको समयमा शानदार काम गरेका थिए । उनीहरुबिना हामी विजयी हुन्थेनौं । या, मुस्किलले हुन्थ्यौं होला । यो मेरो राय हो । उनीहरुले कस्तो साहस देखाए र आज पनि उनीहरु कति साहसी छन् ! अलिकति सोच्नुस् कि कति कष्ट तथा अभाव झेलिरहेका छन् । तर, डटिरहेका छन, किनभने उनीहरु स्वतन्त्रता र कम्युनिज्म चाहन्छन् । यी हाम्रा सर्वहारा महिलाहरु शानदार वर्गयोद्घा हुन् । उनीहरु हाम्रो प्रशंसा र प्रेमका पात्र हुन् । यो याद राख्नुपर्छ कि ‘कैडेट’ महिलाहरुले पनि पेत्रोग्रादमा हाम्रो विरुद्घको लडाइँमा जुंकरहरुको अपेक्षा बढी साहस देखाएका थिए ।”

“यो सत्य हो कि हाम्रो पार्टीमा भरपर्दा, सक्षम तथा अथक महिला कमरेडहरु हुनुहुन्छ । उहाँहरु सोभियतहरु, कार्यकारिणी समितिहरु, जनकमिसारहरु तथा दफ्तरहरुमा जिम्मेदारीको पद सम्हाल्न योग्य हुनुहुन्छ । उहाँहरुमध्ये कति त या पार्टीमा, या मजदुर तथा किसान जनताका बीचमा अथवा लालसेनामा रातदिन काम गर्नुहुन्छ । यो हाम्रा लागि अत्यन्त मूल्यवान कुरो हो । यो सारा दुनियाँका महिलाहरुका लागि महत्वपूर्ण छ । किनभने, यो महिलाहरुको क्षमताको प्रमाण हो । पहिलो सर्वहारा अधिनायकत्वले वास्तवमा महिलाहरुको पूर्ण सामाजिक समानताको मार्ग खोलिरहेको छ । त्यसले विशाल नारीवादी साहित्यको तुलनामा कैयौं बढी पूर्वाग्रहलाई मेटाइरहेको छ । यी सबको बाबजुद पनि अझसम्म अन्तर्राष्ट्रिय महिला आन्दोलन छैन जुन हरहालतमा हुनुपर्छ । यो आन्दोलनबिना हाम्रो इन्टरनेसनल र त्यसका पार्टीहरुको काम अपूर्ण छ र हमेसा अपूर्ण नै रहनेछ । तर, हाम्रो क्रान्तिकारी काम पूर्ण हुनुपर्छ । भन्नुस्, विदेशमा कम्युनिष्टहरुको कामको स्थिति के छ ?”
उहाँ केही अगाडितिर झुकेर, दिक्क, अरुचि या थकान प्रदर्शन नगरीकन थोरै महत्वको विवरणमा पनि ध्यान दिएर मेरा कुरा गम्भीरतापूर्वक सुनिरहनुभएको थियो ।

त्यसपछि उहाँले भन्नुभयो, “खराब छैन, कति पनि खराब छैन महिला कमरेडहरुको ऊर्जा स्वेच्छा, उमंग केही गैरकानुनी तथा अर्धकानुनी समयहरुमा उहाँहरुको हार्दिकता तथा समझदारीले हाम्रो कामको विकासका लागि राम्रो सम्भावनाका संकेत दिइरहेका छन् । जनसमूहलाई साथमा लिएर हाम्रा गतिविधिहरुलाई संचालन गर्न र पार्टी एवं त्यसको बललाई बढाउनमा ती कुराहरु मूल्यवान साधन हुन् । तर यी मित्रहरुका लागि सिद्घान्तहरुको स्पष्ट बोध तथा प्रशिक्षणको के व्यवस्था छ ? जनसमूहका बीचमा काम गर्नका लागि यही कुरा सबभन्दा महत्वपूर्ण हुन्छ । जनसमुदायसँग गहिरोसँग जोडिएका मामिलाहरुमा उनीहरुलाई आफ्नो पक्षमा ल्याउने तथा उत्साहित गर्ने तौरतरिकाहरुमा यसको ठूलो प्रभाव पर्दछ । यसबेला याद आएन, यो कसले भनेका थिए । ‘महान् कार्यका लागि प्रेरणाको जरुरत पर्दछ ।’ हामी र सारा दुनियाँका मिहेनतकश जनताले अहिले नै महान् कार्य गर्नुछ । तब, तपाईंका साथीहरुलाई, जर्मनीका महिला सर्वहाराहरुलाई के कुराले प्रेरण दिन्छ त ? उनीहरुको सर्वहारा वर्र्गीय चेतनाको स्थिति के—कस्तो छ ? के उनीहरुको हित तथा गतिविधिहरु समयको राजनीतिक मागमाथि केन्द्रित छ, उनीहरुको विचार कहाँबाट पैदा हुन्छ ?’

“मैले यस विषयमा रुसी तथा जर्मन साथीहरुबाट अचम्म अचम्मका कुरा सुनेको छु । त्यो म तपाईंलाई बताउँछु । उहाँहरुले मलाई बताउनुभएको थियो कि एकजना प्रतिभाशाली कम्युनिष्ट महिलाले हैम्वर्गमा वेश्याहरुका लागि एउटा अखबार निकालिरहेकी छिन् र उनी वेश्याहरुलाई क्रान्तिकारी संघर्षका लागि संगठित गर्न चाहन्छिन् । जब रोजा लक्जम्वर्गले ती वेश्याहरुको पक्षमा कुनै लेख लेख्नुभयो, जो आफ्नो घृणित पेशासँग सम्बन्धित कुनै पुलिस कानुन तोडेको अभियोगमा जेल परेका थिए, तब उनीहरुले एउटा कम्युनिष्टको जस्तो काम गरे र महसुस गरे । दुर्भाग्यवश, उनीहरु पूँजीवादी समाजको दोहोरो शिकार बन्दछन् । पहिलो त उनीहरु त्यसको सम्पत्ति व्यवस्थाको शिकार बन्दछन् र दोस्रो त्यसका नैतिक आवरणहरुको शिकार । यो कुरा सत्य हो । एउटा निर्मम तथा अदूरदर्शी व्यक्तिले मात्र यो कुरालाई भुल्न सक्छ, तर यो कुरालाई बुझ्नु एउटा कुरा हो र कसरी गर्ने, अर्थात् वेश्याहरुलाई एउटा क्रान्तिकारी तप्काको रुपमा संगठित गर्नु र उनीहरुका लागि एउटा व्यावसायिक पत्रिका निकाल्नु बिलकुल अलग कुरा हुन् । के जर्मनीमा अब अरु कामदार महिलाहरु रहेनन् जसलाई आफ्नो अखबार चाहिन्छ, जसलाई तपाईंको संघर्षमा सामेल गर्नु जरुरी छ ? यो एउटा मनोविकारी भड्काव हो । यो कुराले मलाई त्यस साहित्यिक फेशनको याद गराउँछ, जसले हरवेश्यालाई एक मधुमयीकन्यामा रुपान्तरण गरिदिन्थ्यो । त्यहाँ पनि आधार त ठिकै थियो । अर्थात् सामाजिक सम्वेदना, सम्मानित पूँजीपति वर्गको पाखण्डको खिलाफ विद्रोह । तर त्यो सही आधार भ्रष्ट भयो, पतित भयो ।

यसबाहेक अहिले हाम्रो देशमा वेश्यावृतिको प्रश्नले कैयौं गम्भीर समस्यालाई पैदा गर्दछ । उनीहरुलाई उत्पादनशील श्रममा लगाउनुस्, सामाजिक अर्थतन्त्रमा उनीहरुका लागि स्थान बनाउनुस् कुरा यहाँसम्म पुग्छ । तर, हाम्रो अर्थतन्त्रका विद्यमान स्थिति र समुच्च हालतमा यो एउटा कठिन तथा जटिल काम हो । सर्वहारा वर्गद्वारा राज्यसत्ता दखल गरिएपछि महिलाहरुको समस्याको यो पक्ष व्यापक रुपले हाम्रा सामु आएको छ र त्यसले समाधानको माग गर्दछ । यसले हाम्रा लागि सोभियत रुसमा अहिल्यै झन्झट पैदा गर्नेछ । तर आउनुस्, जर्मनीको खास प्रश्नमा जाऊँ । पार्टीले कुनै पनि हालतमा मेम्बरहरुका यस्ता अनुचित कामलाई हेरेर बस्नुहुँदैन । त्यसबाट समस्या पैदा हुन्छ र हाम्रो शक्ति विभाजित हुन पुग्छ । फेरि तपाईंले त्यसलाई रोक्नका लागि के गर्नुभयो त ?’
मैले जवाफ दिनुभन्दा अगाडि नै उहाँ फेरि भन्न थाल्नुभयो

“तपाईंहरुका अपराधहरुको पोल अझै खुल्न बाँकी छ, क्लारा ! मलाई बताइएको थियो कि मिहेनतकश महिलाहरुका साथमा विचार विनिमय तथा अध्ययनका लागि आयोजित सन्ध्याकालीन गोष्ठीहरुमा मुख्य विषय विवाह र यौन सम्बन्ध हुने गर्छन् । यी विषयहरु राजनीतिक शिक्षामा सबभन्दा रोचक हुन्छन् । मलाई यो कुरा सुन्दा आफ्ना कानमा विश्वास लागेन । सर्वहारा अधिनायकत्व कायम भएको पहिलो राज्य सारा दुनियाँका प्रतिक्रान्तिकारीहरुद्वारा घेरिएर लडिरहेको छ । प्रतिक्रान्तिको निरन्तर बढ्दो दबाबलाई मुकाबिला गर्नका लागि स्वयं जर्मनीको परिस्थितिले समस्त सर्वहारा क्रान्तिकारी शक्तिहरुको बढीभन्दा बढी एकताको माग गर्दछ । तर उता मिहेनतकश महिला कमरेडहरु भने यौन समस्याहरु तथा विवाहका अतित, वर्तमान एवं भविष्यका रुपहरुबारे विचार गरिहनुभएको छ । सर्वहारा महिलाहरुलाई यस्ता कुराहरुको जानकारी दिनु उहाँहरु आफ्नो प्रथम कर्तव्य सम्झनुहुन्छ । भनिन्छ कि यौन विषयक पश््रनमा भियनाकी एक युवा लेखिकाद्वारा लिखित एउटा पुस्तिकाले सबभन्दा बढी लोकप्रियता पाएको छ । कति वाहियात पुस्तिका । त्यसमा रहेका जति पनि ठीक कुराहरु छन् ती सबै केटोलको पुस्तकमा मजदुरहरुले धेरै पहिले पढिसकेका छन् । हो, पढिसकेका छन्, तर त्यस्तो दिक्कलाग्दो एवं उच्छृंखल रुपमा होइन, जस्तो कि उक्त पुस्तिकामा पाइन्छ, बरु पूँजीवादी समाजको खिलाफ कठोर शक्तिशाली हमलाको रुपमा ।

पुस्तिकामा फ्रायडको परिकल्पनाको उल्लेख त्यसलाई वैज्ञानिकता प्रदान गर्नका लागि गरिएको छ । तर त्यो सब फोहोरी लिपपोत मात्र हो । फ्रायडको सिद्धान्त आजकाल एउटा फेशन बनेको छ । विभिन्न लेखहरु, रिपोर्टहरु, पुस्तिकाहरु आदिमा (संक्षेपमा भन्दा पूँजीवादी समाजको घिनलाग्दो जमिनमा फुल्ने, फल्ने साहित्यहरुमा) लेखिएका यौन सिद्धान्तहरुमा म विश्वास गर्दिनँ । म ती मानिसहरुको विश्वास गर्दिनँ, जो आफ्नो नाभीको ध्यानमा मग्न भारतीय फकिर(योगी) जस्तो गरी निरन्तर यौन समस्यामा रत छन् । लाग्छ कि यौन सिद्धान्तहरुको यो थुप्रो, जुन बढी मात्रामा केवल परिकल्पना हुन् र त्यो पनि मनोमानी परिकल्पनाहरु, निजी आवश्यकताको उपज हो । त्यो पूँजीवादी नैतिकताको सामु आफ्नो अस्वाभाविक तथा अतिक्रामक यौन जीवनलाई उचित सिद्घ गर्ने सपनाबाट पैदा हुन्छ । पुँजीवादी नैतिकताका यी ढाकछोप गरिएका सम्मान मेरा लागि त्यतिकै घृणास्पद छन् जति कि रस लिइ—लिईकन यौन समस्याहरुमा डुबुल्की मार्नु । तिनीहरु बाहिरबाट जतिसुकै विद्रोही एवं क्रान्तिकारी किन नदेखिऊन् हरहालतमा अन्ततः उनीहरु पुँजीवादी नै हुन् ।

त्यो बुद्धिजीवीहरु तथा उनीहरुको नजिकका सामाजिक तप्काका लागि मन पर्दो काम हो पार्टीभित्र, वर्ग सचेत सर्वहाराको बीचमा त्यसका लागि कुनै स्थान छैन ।”

यहाँ मैले रोकेर भने कि निजी सम्पत्तिमा आधारित बुर्जुवा समाजअन्तर्गत यौन तथा वैवाहिक प्रश्नहरुमा तमाम सामाजिक वर्ग तथा तप्काका महिलाहरुका विभिन्न समस्याहरु टकराव एवं पीडाहरु सामेल भएका हुन्छन् । युद्घ तथा त्यसको परिणामले महिलाहरुका लागि यौन सम्बन्धको क्षेत्रमा विद्यमान ती सब टकरावहरु तथा समस्याहरुलाई अत्यन्त तीव्र तथा तीखो बनाइदिएका छन् । जुन समस्या पहिले महिलाहरुका लागि अज्ञात थिए । अब स्पष्ट रुपमा खुलेर सामु आएका छन् । तिनीहरुको साथमा क्रान्तिका असर पनि जोडिन पुगेका छन् । पुराना सामाजिक सम्बन्ध भत्किंदैछन्, टुट्दैछन् र स्त्री र पुरुषको बीचमा नयाँ वैचारिक सम्बन्धहरुको सुरुवात हुँदैछ्रन् । यी प्रश्न अरुमाथिको ध्यानाकर्षणले नयाँ परिस्थिति तथा नयाँ दिशालाई बुझ्ने आवश्यकता देखाइरहेको छ । यहाँ हामी पुँजीवादी समाजको झुट तथा पाखण्डको खिलाफ प्रतिक्रियाको पनि संकेत पाउँछौं ।

विवाह तथा परिवारका आर्थिक रुपहरुको ऐतिहासिक विकास र आर्थिक जीवनमाथि तिनीहरुको निर्भरतालाई देखाउँदै मिहेनतकश महिलाहरुको दिमागमा विद्यमान यस अन्धविश्वासलाई समाप्त पार्न सकिन्छ कि पुँजीवादी समाज शाश्वत हो । ती समस्याहरुप्रति एउटा आलोचनात्मक दृष्टिकोण अपनाएर हामीले पुँजीवादी समाजको कठोर जाँच परख यसको वास्तविक चरित्र तथा प्रभावहरुको पर्दाफास तथा यसका यौन नैतिकता र झुटको भत्र्सना गर्नतिर अगाडि कदम बढाउनुपर्छ । सबै बाटाहरु रोम पुग्दछन् । समाजका विचारधारात्मक ढाँचाका कुनै पनि महत्वपूर्ण अंग तथा कुनै प्रमुख सामाजिक परिघटनाको माक्र्सवादी विश्लेषण पुँजीवादी व्यवस्था तथा त्यसका आधार(निजी सम्पत्ति) को विश्लेषणमा पुग्नु आवश्यक छ र अन्तमा यस अनुभूतिमा पुग्नु आवश्यक छ कि यसलाई बिलकुल खत्तम गरियोस् ।

लेनिनले हाँस्दै टाउको हल्लाउनुभयो, “असाध्यै राम्रो, तपाईं पार्टीको राम्रो बचाउ गर्दै हुनुहुन्छ र तपाईं जे भन्दै हुनुहुन्छ, निःसन्देश सही छन् । तर यी सब जर्मनीमा गरिएका गल्तीहरुको सफाइ मात्र हुन्, तिनीहरुको औचित्य होइनन् । गल्ती हरहालतमा गल्ती नै हुन्छ । के तपाईं हामीलाई गम्भीरतापूूवर्क यो आश्वासन दिन सक्नुहुन्छ कि यौन तथा वैवाहिक प्रश्नमा परिपक्व, जीवन्त ऐतिहासिक भौतिकवादी दृष्टिबाट बहस गरिन्छ ? त्यसका लागि गहिरो तथा बहुआयामिक ज्ञानको जरुरत पर्छ, थुप्रोे सारा सामग्रीहरुमाथि बिलकुल स्पष्ट माक्र्सवादी समझदारीको आवश्यकता छ । आज तपाईंसँग यस्तो शक्ति कहाँ छ ? यदि त्यो हुन्थ्यो भने जुन पुस्तिकाको मैलेउल्लेख गरें त्यस्तो कुनै पुस्तिका पढाइ एवं बहसका गोष्ठीहरुमा राखिँदैनथ्यो । त्यस्ता सामग्रीको आलोचना गर्नुको बदला प्रशंसा एवं प्रचार पो गरिन्छ । समस्याको यस्तो निरर्थक गैरमाक्र्सवादी बहसको के नतिजा आयो ? यही होइन, कि यौन तथा वैवाहिक प्रश्नहरुलाई व्यापक सामाजिक प्रश्नको अंग ठानिदैन ? होइन, योभन्दा पनि राम्रो, स्वयं ठूलो सामाजिक समस्यालाई नै यौन समस्याको एउटा हिस्सा, एउटा गौण प्रश्न मान्न थालिएको छ । मुख्य कुरा नै गौण बन्दछ ।

यसबाट त केवल प्रश्नको स्पष्ट बुझाइ ओझेलमा पर्न जान्छ, त्यसले त आमरुपमा मिहेनतकश महिलाहरुको चिन्तनलाई, उनीहरुको वर्ग चेतनालाई नै धमिलो, बोधो बनाइदिन्छ । एउटा अर्को महत्वपूर्ण कुरा छ, ज्ञानी सुलेमानले पनि भनेका थिए कि हर चिजको आफ्नो समय हुन्छ । म तपाईसँग सोध्न चाहन्छु, के अहिले सर्वहारा महिलाहरुलाई यस्ता बहसमा अल्मलिने फुर्सद छ कि प्रेम कसरी गर्नुपर्छ वा कसरी गराउनुपर्छ, अतीतमा यी सब कसरी हुन्थे, आज कसरी हुने गर्छन्, भविष्यमा कसरी होलान्, त्यो पनि विभिन्न राष्ट्रहरुमा । र, यसैलाई गर्वका साथ ऐतिहासिक भौतिकवाद भनिन थालिएको छ । अहिले महिला कमरेडहरु र तमाम मिहेनतकश स्त्रीहरुको सारा ध्यान त्यस सर्वहारा क्रान्तितिर लगाउनु आवश्यक छ, जसले वैवाहिक तथा यौन सम्बन्धहरुमा सच्चा परिवर्तन ल्याउनेछ । तर, अझै त हामीले विवाहका रुपहरुको बदला अर्कै समस्याहरुमाथि ध्यान दिनु आवश्यक छ । सोभियतहरुका समस्याको साथसाथमा भर्साइ सन्धि तथा मिहनेतकश महिलाहरुको जीवनमा त्यसको प्रभावको प्रश्न, बेरोजगारी, घट्दो वेतन, कर तथा अरु प्रश्न जर्मन सर्वहाराको एजेण्डा (कार्यसूचि) मा अहिले पनि सामेल छन् । संक्षेपमा म मान्दछु कि सर्वहारा महिलाहरुका लागि यस्ता किसिमका राजनीतिक—सामाजिक शिक्षण झुटा छन् , बिलकुल गलत छन् । यस मामिलामा तपाईं कसरी चुप रहन सक्नुभयो ? यसको खिलाफ तपाईंले आफ्नो अधिकारको उपयोग गर्नुपर्छ ।”

साभार : महिलाहरुको मुक्तिको बारेमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी