तिमी जति गर्न सक्छौ
त्यति म पनि गर्न सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसीना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरु
मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्यो कुन्नि मलाई
तिमी त मभन्दा कोशौं अघि गइसकेछौ।
तिमी र म एउटै होइनौं
एक–अर्काका पुरक मात्र हौं
त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरुका भागिदार हुन सक्दैनौ
म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु
म तिमीहरुको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु
तिमीलाई त यसो कहिल्यै भएन,
तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ
तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन
तिमीलाई प्रसव कालको सीमातीत कष्ट भोग्नु पर्दैन
हो, म तिमीबिना आमा बन्न सक्तिनँ
तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
त्यो मेरो, नितान्त… मेरो अनुभूति हो
तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो?
तिमीलाई स्वास्नीमान्छेले कलंकको टिका लगाइदियो?
तिमीलाई स्वास्नीमान्छेले बेच्यो?
तिमी निरूत्तर छौ यस प्रश्नको अघि,
आजको सत्तारूढ तिमी
शताब्दी–शताब्दीअघि
झगडालु, ईर्ष्यालु वनमानुष तिमीलाई
माया र सह–अस्तित्वको अँगालोमा बाँधी
आफ्नो ओढारको छानुमुनि भित्र्याएकी थिएँ
जसरी आज तिमी
दाइजोको लावा–लश्करसँग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रूवाउँदै भित्र्याउने गर्छौ,
त्यसैले तिमी यति विमुख न हौ
यति निर्दयी नबन,
यति बैगुनी न हौ,
तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरु साटासाट गरौं
हामी मानसिकताले एकाकार हौं
हामी एक–अर्का बिना बाँच्नसक्ने प्राणी होइनौं
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले
सभ्यताको आदिकालमा पुर्याइसकेकी थिएँ।
प्रसिद्ध नेपाली साहित्यकार पारिजातको मानव सभ्यता र नारी मुक्तिलाई मूल विषय बनाएर लेखिएको चर्चित कविता ‘मानुषी’ । यो कविता पारिजात सङ्कलित रचनाहरुबाट लिइएको हो ।