ओलि जी, झापामा क्रान्तिका नाममा मान्छेको घाँटी रेट्नु हत्या थियो कि थिएन ?

ओलि जी, झापामा क्रान्तिका नाममा मान्छेको घाँटी रेट्नु हत्या थियो कि थिएन ?

  • शुक्रबार, फाल्गुन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 32.9K
    SHARES

  • प्रज्वल श्रेष्ठ

आजभोलि झाडापखाला, ज्वरो सायद कम भयो होला प्रधानमन्त्रीका रुपमा रहेका खड्गप्रसाद ओली जीको । उनलाई बचाउन देशको जनताको रगत पसिनाबाट उठेको करबाट करोडौं रकम विदेशी अस्पतालमा लगेर उपचारमा खर्च गरिसकेको छ । जबकि देशका हजारौं नागरिक सामान्य उपचार नपाएर मरिरहेका छन् । दूरदराजका सुत्केरी महिलाको के कुरा गरौं ।

लाखौं युवाहरु अरवको गल्लीमा तातो बालुवामा पसिना मात्र नभई रगत बगाइरहेका छन् । जाँदा प्लेनमा र फर्कँदा कफिनको स्थिति छ । तिनको लासमाथि समेत कर लगाएर बैधानिक रुपमा कथित जनप्रतिनिधिका नाममा, सांसद र मन्त्रीका नाममा भ्रष्टाचार गर्ने तपाइँहरु बैधानिक लुटेरा हो । यसमा जनता विस्तारै बुझ्दै गएका छन् र क्रमशः जाग्दैछन् । कमिसनखोर, मेडिकल माफिया, दलालहरुसँग मार्सी धानको भात खाने र माफियाहरुलाई लुट्ने सम्बन्धन दिने तपाईँ लुटेरा हो कि हैन ? तपाइँलाई थाहै छ होला, एउटा माफियाको मुनाफाका लागि लाखौ नागरिकहरु शोषित भइरहेका छन् । ठगिइरहेका छन् । लुटिइरहेका छन् ।

अर्कोतिर २०५४ सालमा महाकाली बेच्दा नेपालमा पश्चिमबाट सूर्य उदाउँछ भन्दै नसोचेको कुरा (लाभ) प्राप्त हुन्छ भनेर जनतालाई भ्रमित पार्ने तपाइँँ केपी ओली हो कि हैन ? अहिले सूर्य कताबाट उदाउँछ ? त्यो पनि देखिरहेकै होला नि । महाकाली भारतले एकलौटी लैजाँदा किन बोल्न सक्नु हुन्न ? सीमा कति मिचियो याद छ नि ? महाकाली राष्ट्रघात सेलाउन नपाउँदै अरुण बेच्नुभयो किन ? त्यसबाट नेपालले के नियति भोग्दैछ त्यसबारे कहिल्यै सोच्नुभएको छ ? अहिले फेरि मोदीलाइँ रिझाएर सत्ता स्थिर बनाउन सप्तकोशी उच्च बाँध बनाउन दिने भित्री कसरत गर्दै गरेको सुनिदैँछ । त्यसले नेपाललाइँ कस्तो क्षति पुर्याउँछ आँकलन गर्नुभएको छ ? यी सबै राष्ट्रघात कसले गर्दैछ, बिप्लवले कि केपी ओलीले ? जनताले फैसाला गर्नेछन् ।

हो विद्रोह गर्न तयार भएर हिँडेको पार्टीले सहयोग उठाएको साँचो हो । त्यो सहयोग लुट भयो भने वाइड्बडीमा अरबौ खाने सरकारी मान्छे को हुन ? विप्लवका कि तपाइँका ? वडादेखि सिंहदरबारसम्म भ्रष्टाचार गरेर कुम्ल्याउने र तिनलाई संरक्षण दिन अगाडि सारिने गुण्डा मान्छेहरु कसका हुन् बिप्लवका कि ओलीका ? यति कुरा बुझ्ने इमान्दारिता यहाँमा भए अझ धेरै राम्रो ।

वीरगन्जको छपकैयामा भारतले ५० बिघा जमिन मिच्दा सोल्टी होटलमा भारतीय विदेशमन्त्री सुस्मा स्वराजको अगाडि कुटनैतिक आचारसंहिता विपरीत धनुषटंकार गर्ने निहुरिने चाहिं को हो ? सीमामा हामीले काँडेतार लगाउँदा रातारात हटाउने को हो ? देशकै बेइज्त हुने गरी ‘पिस फेडेरेसन’को नाममा होली वाइन पिएर करोडौं रकम हात पारेर क्रिष्चियन धर्मको गुणगान गाउने को हो ? मदन भण्डारीको हत्याका सम्बन्धमा छानबिन समितिका मान्छेलाई दुर्घटना हो भन्नु भनेर सिकाउने को हो ? कहाँ छन् मदन भण्डारीको हत्यारा ? दुईतिहाइको प्रधानमन्त्री तपार्इँ किन मौन ?

ओली महोदय, झापामा सामन्तको सफायाका नाममा मान्छेको गला रेट्दा क्रान्ति भयो कि हत्या ? त्यही क्रान्तिको ब्याज खाएर हिडिरहनु भएको छ किन ? लाज लाग्नु मान्नु पर्ने होइन र ? ०६२/०६३ सालको जनआन्दोलमा कोठामा सुतेर रमिता हेर्ने, बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रको विरोध गर्दै बस्ने घोरविरोधी तपाईँ नै होइन ? अनि केहि समय पहिला अमेरिका पुग्दा पुरानो याद आयो कि आएन ?
हो, धेरै लेखपढ नभए पनि गाउँ खाने कथा, उखान टुक्कामा तपार्इँ विशेषज्ञ जत्तिकै हुनुहुन्छ । कहिले अरुलाइँ कहिले आफ्नैलाइँ उखान सुनाएर हसाउँने र ताली खाने तपार्इँसँग राम्रो कला छ । यसको सम्मान गर्नुपर्छ । तर देशको गम्भीर मामलामा, राजनीतिक मुद्दाहरुमा प्रहसनले निकास दिदैँन राम्ररी ख्याल गर्नु होला । यो सत्य हो ।

तपाइले बिप्लवकाबारे दिएका श्रृङखलावद्ध टिप्पणी र पार्टीको पर्चा पढिरहेको खबरहरु हामीले पनि सुनिरहेका छौ । अघिल्लो निर्वाचनका बेला बिप्लवलाई कर्णालीका बिरामी बोक्न जाउ भन्नुभयो । ठीक छ, कर्णाली उपेक्षाको केन्द्र हो । त्यसलाई हामी सम्बोधन गर्छौ । बिरामी बोक्ने वा क्रान्ति उठाउने, के गर्ने ? त्यो हामी गरौँला ।

त्यसपछि तपाईँ भन्दै हुनुहुन्छ ‘केको कम्युनिस्ट पार्टी ? हसिया हथौड़ाको यत्रो बेइज्जत किन ?’ तर भन्न चाहन्छौं, तपाइलाई शरम लाग्दैन ओली कामरेड ? तपाईको बारे कसलाई थाहा छैन कि अमेरिकी राजदुत जेम्सएफ मोरियार्टी बल्खु आउँदा कम्युनिस्ट पार्टीको झन्डा र कार्लमाक्र्सको फोटो लुकाउने तपाई ओली र माधव नेपालहरु नै हैनन् ? लेनिनले भनेजस्तो हसिया हथौड़ाको ब्यानरभित्र खसीको टाउको झुण्डयाएर कुकुरको मासु बेच्ने काम तपाइहरुले गरिरहेको छ कि बिप्लवले ? सवाल निकै गम्भीर र पेचिलो बन्दै गएको छ ।

जनतालाई झुठो र मखमली सपना देखाउदै राज्यकोषबाट ब्रम्हलुट गरेको रकम बाँडेर चुनाब जित्दैमा कोही महान हुँदैनन् । यसबाट अन्तरिक्षा पुगेको भ्रम पाल्न जरुरी पनि छैन । सोझासिधा जनतालाई तपाइले सधैँ मुर्ख बनाउन सक्नु हुन्न । हेक्का रहोस् ।
माक्र्सवाद मानेको हो तर त्यसलाई बुझ्नु भएको छैन भने लाज नमानीकन भने हुन्छ । होइन भने यति कुरा जान्नुस् कि श्रम र पूँजीको बीचमा अर्थात मालिक र मजदुर वर्ग रहेसम्म वर्ग संघर्ष अनिवार्य छ । समाज वैज्ञानिक ब्यबस्थामा नगई सुख छैन ।

प्रश्न विप्लवको व्यक्तिगत हैन । उनी अहिलेको समकालीन कम्युनिस्ट आन्दोलनमा उन्नत विचारसहित अघि बढेका नेता हुन् । तपाईँको उखान टुक्काले कुनै प्रभाव पार्दैन । त्यो समाज विकासको आवश्यकताले पैदा गर्ने विषय हो । सक्नुहुन्छ भने खुलेर आउनुस् वैचारिक प्रतिस्पर्धा गरौं, हैन भने धेरै प्रहसन नगर्नुस् । तपाईँको बन्दुकको भाषा सबैले बुझेका र पचाएका छन् । तपाईँको बन्दुकको भाषासँग विप्लव तर्सिनेवाला छैनन् । अझै भन्छौं, उखानटुक्काले देश चल्दैन ।

(यो लेखकको नीजी विचार हो । -सम्पादक)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी