काठमाडौं, २३ फागुन ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि प्रारम्भिक बहस सकिएको छ । आज भएको बहसमा रिट निवेदकको तर्फबाट अधिवक्ता कपिलचन्द्र पोखरेल र राजु अधिकारीले भाग लिएका थिए ।
मंगलबार अपरान्ह राजधानीको सामाखुशीस्थित डेराबाटै सादा पोशाकका प्रहरीले कार्कीलाई गिरफ्तार गरेको थियो । श्रीमान निर्दोष रहेको र बिनाकारण गिरफ्तार गरेको भन्दै रिहाई माग गर्दै बुधबार धर्मपत्नी पवित्रा कार्कीले रिट दायर गरेकी थिइन् । बहस सकेपनि आदेश आउन बाँकी छ । बहस ३ नम्बर इजलासमा न्यायाधीस टंकबहादुर मोक्तानको इजलासमा भएको थियो ।
संयोजक कार्कीलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । कार्की यसअघि पटपकटक गिरफ्तार पर्दै र छुट्दै आएका थिए । महासंघ ने.क.पा.निकट किसानहरुको संगठन हो ।
पछिल्लो समयमा सरकारले ने.क.पा. र तिनका जनवर्गीय संगठनका नेतृत्व, कार्यकर्ता साथै समर्थनकलाई समेत धरपकड श्रृंखला बढाउँदै लगेको छ । त्यसविरुद्ध ने.क.पा.ले पनि विभिन्न आन्दोलन चलाउँदै दमन र गिरफ्तारको घोर विरोध गर्दै आएको छ ।