काठमाडौँ, २१ फागुन । प्रहरी हिरासतमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई ८ दिनको म्याद थपेको छ ।
मंगलबार ललितपुर जिल्ला अदालतबाट दोस्रो पटक ८ दिनको म्याद थपेको हो । यहि फागुन १४ गते गिरफ्तार गरिएका भुजेललाई फागुन १० गते एनसेल मुख्यालय नख्खुमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।
भुजेलले एनसेल कार्यलयमा भएको बिस्फोटको घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले घटनाको समयमा आफु बनेपामा रहेको जनाउदै झठा मुद्धा लगाएर आफुलाई फसाउन खोजेको बताए ।
आफू नेकपाको कार्यकर्ता भएकै कारण पूर्वाग्रही रुपमा झुटा मुद्दा लगाएको र आफुलाई यातना समेत दिएको बताएका छन् ।

यही फागुन १४ गते आफन्तको विहेमा सहभागी भइरहेको बेला प्रहरीले भुजेललाई गिरफ्तार गरेको थियो । विहेमा सादा पोसाकमा गएका प्रहरीले पेस्तोल देखाएर गिरफ्तार गरेको भुजेलका आफन्तले बताएका छन् ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका दुई जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सोमवार राती ८ बजे आफ्नै घरमा बसिरहेको बेला नेकपाका जिला सदस्यद्वय योगेन्द्र यादव र प्रदेशि यादवलाई गिरफ्तार गरिएको नेकपाले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखेकोे छ । पछिल्लो समय एनसेलको आक्रमण पछि मात्रै नेकपाका झण्डै ३ दर्जन नेता कार्यकर्तालाई समातेको प्रहरीको दाबी छ ।