काठमाठौं , २० फागुन । नेपाल कम्युनिस्ट पार्टीले ५० दिनदेखि चलाइराखेको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान–२’ ले काठमाडौं उपत्यकामा पनि तीव्रता पाइरहेको छ ।
उसले आफूनिकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको उपत्यका मजदुर विशेष ब्युरोले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा विभिन्न उद्योग तथा कारखानामा श्रमिकहरुलाई अधिकारको लागि संगठित गराउने संगठनात्मक कार्यलाई बढाइरहेको छ ।
महासंघले तीन वटै जिल्लामा रहेको बर्जर पेन्ट इन्टरनेसनलमा कार्यरत मजदुरहरूसँग छलफल गरी यही शनिबार उपत्यकास्तरीय मूल एकाई समिति गठन गरेको छ ।
यसमा महासंघको होटल टिमले अग्रसरता लिइरहेको छ । संगठन निर्माणका क्रममा उद्योग तथा व्यापरिक प्रतिष्ठानले श्रमिक अर्थात मजदुरहरूलाई विभिन्न प्रकृतिका काममा लगाउने तर उनीहरुलाई प्रचलित श्रम ऐनबमोजिम न्यूनतम् रूपमा रोजगार सम्झौतासमेत नगराएको पाइएको छ ।
सोही सिलसिलमा बर्जर पेन्टले श्रमिकहरूको श्रमशोषण गरेको मजदुर नेताहरूले बताए् । संगठन निर्माणसँगै मजदुरहरुको श्रम शोषणको अन्त्य गर्दै अधिकार स्थापित गराउन सबैखाले गतिविधि गर्ने कार्यक्रममा बोल्ने मजदुर नेताहरुले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा होटेल टिमका प्रमुख अभियन्ता ईश्वर बुढाथोकी, महसंघका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने, महासंघकै प्रमुख पेसागत घटक संघ अखिल नेपाल क्रान्तिकारी संघ–संस्था श्रमिक संघका केन्द्रीय सदस्य राम घिताङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मजदुरुहरुको बाक्लो सहभागिता रहेको थियो । नरेन्द्र बोहोराको अध्यक्षतामा २३ सदस्यीय उपत्यकास्तरीय मूल एकाइ समिति गठन गरिएको अभियन्ता बुढाथोकीले बताएका छन् ।
समितिका नवनिर्वाचित श्रमिकहरूलाई बधाई तथा शुभकामना दिँदै अतिथिहरूले क्रान्ति र परिवर्तनमा श्रमिकहरुको निर्णायक भूमिका रहँदै आएको दृष्टान्त प्रस्तुत गर्दै नेकपाले लिएको लक्ष्य वैज्ञानिक समाजवाद स्थापनाका निम्ति सशक्त भूमिका निर्वाह गर्न सबैसँग निर्देशन दिए ।
नवगठित मूल एकाइ समितिका उपाध्यक्ष गणेश खत्री, सचिवमा माधव थापा, कोषाध्यक्षमा इन्द्र कुमाल, सदस्यहरूमा महेश खत्री, गनबहादुर कार्की, गोविन्द थापा, विशाल तामाङ, शम्भु काफ्ले, सुजन मैनाली, दीपेश देवकोटा, तुलबहादुर गुरुङ, दीपक तामाङ, तीर्थराज घिमिरे, विकास ठकुरी, नारायण ठकुरी, हरिबहादुर ठकुरी, राधाकृष्ण थापा, दिनेश विक, प्रेम गुरुङ, रूपेश तामाङ र रवि आछामी रहेका छन् ।
नेकपाले उपत्यकाका तीनै जिल्लामा गाउँ, टोल, पिँढी तथा दैलो सभा समे चलाइरहेको छ । उसले संगठन निर्माण र सरकारको कमीकमजोरीबारे स्थानीय स्तरमा पुगी झण्डाफोर गर्ने र जनताको आफ्नै वैज्ञानिक समाजवाद स्थापनाको पक्षमा उभिन अपिल गर्दै आइरहेको छ । तर सरकारले अभियानकर्मीहरुलाई दमन र धरपकड कार्यलाई पनि बढवा दिइरहेको नेकपाले जनाएको छ ।