१९ फागुन, काठमाडौं । राहत तथा बालविकास शिक्षकहरुकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको थियाे ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको हो ।सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधीत क्षेत्र तोड्न खोजेपछि हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ ।
सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णग गरेको थियो । आन्दोलनरत् सट्टा शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए । कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा सट्टा शिक्षकले नै पढाउँदै आएका छन् । आज उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए ।