मिलनसार र भद्र छविका रुपमा राजनैतिक व्यक्तिव बनाउन सफल भएकै कारण उहाँले कास्कीबाट लगातार तीनपटक निर्वाचन जित्नुभएको थियो । गाउँकै श्री ब्रह्म ज्योति प्रावि, शान्ति पधेंरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि र पाण्डेथुमबाट प्रवेशिका उत्तीर्ण गरेका उहाँ विद्यालय अवस्थादेखि नै अनेरास्ववियु, रेडक्रस जस्ता सङ्गठन एवं सङ्घसंस्थामा क्रियाशील हुनुहुन्थ्यो ।
प्रवेशिका उत्तीर्ण गरेसँगै वन विज्ञान अध्ययन संस्थानमा भर्ना हुनुभएका अधिकारीले केही समयपश्चात् विसं २०४२ मा पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्न थाल्नुभयो ।
विद्यालयदेखि नै राजनीतिमा चासो राख्ने उहाँ विसं २०४४ मा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, विसं २०४५ मा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, विसं २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, विसं २०४७ मा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बन्नुभयो । विसं २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा अधिकारी निर्वाचित हुनुभएको थियो । विसं २०५३ मा उहाँ स्ववियु काउन्सिल नेपालको संयोजक बन्नुभयो ।
विसं २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्नुभएका अधिकारी त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको थियो । पञ्चायतकालीन समयमा नै अत्यन्त क्रियाशील अधिकारी विसं ०४६ को जनआन्दोलनताका नै पटकपटक छ महीना जेल र हिरासतमा पर्नुभएको थियो ।
पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्दानै अधिकारीले क्याम्पस भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माणका साथै शैक्षिक वातावरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप, शैक्षिक गुणस्तर अभिवृद्धि आदिमा धेरै काम गर्नुभएको थियो ।
शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्रविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमासुरक्षा अभियान आदिमा उहाँले नेतृत्व गर्नुभयो । लक्ष्मणपुर बाँधको विरोध तथा तत्कालीन शाहज्यादा पारस शाहको ज्यादतीविरुद्धको आन्दोलनका साथै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलन जस्ता धेरैमा उहाँले अगुवाइ गर्नुभएको थियो ।
विसं २०४५ मा पार्टीको सङ्गठित सदस्यता प्राप्त गर्नुभएका अधिकारी विसं २०३९ मा नै पार्टीको रेडगार्ड अर्गनाइजेसनमा सङ्गठित बन्नुभएको थियो । विसं २०४० मा इलाका पार्टी कमिटीमा, विसं २०४६ र ०४७ मा पोखरा नगर कमिटी र विसं २०४८ मा पार्टी जिल्ला कमिटीमा रहनुभएका अधिकारी त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनुभएको थियो ।
विसं २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव बन्नुभएका अधिकारी ०६३ मा पुनःसचिवमा निर्वाचित बन्नुभयो । विसं ०६२÷६३ को आन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्धको आन्दोलनमा पटकपटक गरी पाँच महीना जेल बस्नुभएका अधिकारी विसं २०६४ र विसं २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित बन्नुभयो ।
विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद्का लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित अधिकारी पछिल्लो समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको थियो । यसअघि उहाँले विकास समितिको सभापतिका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । अधिकारीले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलङ्का, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वेलगायतका देशको भ्रमण गरिसक्नुभएको थियो ।
पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा, बेगनास, रूपालगायत ताल तलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुल निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायतका शैक्षिक संस्थाको निर्माण एवं विकास आदिमा उहाँले उल्लेख्य भूमिका खेल्नुभएको थियो । राजनीतिसँगै अधिकारीको लेखक व्यक्तित्व छुट्टै छ। उनले थोरै कृति प्रकाशन गरे पनि उनका कृति चर्चित र महत्वपूर्ण छन्। ‘संविधानसभा : लोकतन्त्र र पुनर्संरचना’, ‘समृद्ध नेपाल’ उनका दुई कृति हुन्। कृतिसँगै उनले राजनीति र विकास सम्बनधी सयौँ अनुसन्धानमुलक लेख लेखेका छन्।
कास्कीको उदाउँदो नक्षेत्रका रुपमा रहेका अधिकारीको ४९ वर्षको अल्पायुमै निधन भएको छ । अधिकारीका बुबा आमा, श्रीमती र दुई छोरा हुनुहुन्छ ।