ताप्लेजुङ, फाल्गुन १५ ।
एयर डाइनेष्टी हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन नाइन एन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टर बुधबार दिउँसो दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशकआङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया रहेका छन् ।
त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको जनाउदैँ हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको जानकारी दिए ।
अहिल दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको डिआइजी केदार रिजालले बताए ।
उता दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि घटनास्थल गएका सिम्रिक हेलिकोप्टरका पाइलट विवेक खड्काले बताए। दुर्घटनामा परेको हेलिकोप्टरको सानो भाग बाहेक सबै जलेको देखेको उनले बताए।
‘धुवाँ देखेँ। हुभर गरेर हेर्दा सानो भागबाहेक सबै जलेको देखियो’, खड्काले भने, ‘शवहरू पनि आधा आधा जलेको देखिन्थ्यो।’
उनका अनुसार पाथिभरामा हावा निकै चर्को थियो भने बादल पनि निकै बाक्लो लागेको थियो।
पाइलट खड्काका अनुसार दुर्घटनास्थल हेर्दा हेलिकोप्टर घुम्नेक्रममा दुर्घटनामा परेको हुन सक्ने बताए।