ढल्केवर, १५ फागुन । धनुषाको ढल्केवरमाा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
दुर्घटनामा भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
२० जना घाइते भएका छन् ।घाइतेहरूको ढल्केवर लालगढरस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते र मृत्यु हुनेहरूमा बसका यात्रु छन् ।
काकरभिट्ठाबाट गौरतर्फ गइरहेको ना५ख ४९६ नम्बरको मुनाल यातायात कम्पनीको बस र हेटौंडाबाट पूर्वतर्फ गइरहेको मालवाहक ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय अगाडि मंगलबार मध्यरातपछि ठोक्किएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।