११ फागुन, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि भएकाे बम विष्फोटका घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।
बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।
शुक्रबार राति बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।
यसैबीच, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बम बिष्फोटमा भएका घाइते र उनीहरुका आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताए ।
घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।
मन्त्री थापाले यस्ता घटना नख्खुमा मात्र नभइ देशभर नै भएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘घटना दुःखद भयो । हामी कडाइपूर्वक छानबिन गर्छौं र दोषीलाई कानुनको कठघरामा ल्याउँछौं ।’
उनले सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने पनि बताए ।
उता, घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ । विष्फोटलगत्तै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु पुगेका थिए । बिष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाइएको छ ।
शुक्रबार राति नै कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।