१० फागुन,काठमाडौं ।
ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । शुक्रबार राति ८ बजेतिर बम बिस्फोटमा परी ३ जना घाइते भएका छन्।
घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का, सिंह पस्राद गुरुङ र उरुसा मानन्धर रहेका छन् ।
उनीहरूको अहिले मेडिसिटि, विएण्डबी र अल्का अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोटबाट भवन चर्किनुको साथै व्याट्री र अन्य उपकरण समेत जलेको घटनास्थलमा रहेका डिएसपि अपिलराज बोहराले मिर्मिरे अनलाईनलाई जानकारी दिए ।
एनसेलले सरकारलाई कर नतिरेको भन्दै लामो समयदेखि विवादित हुँदै आएको छ ।बम कसले विस्फोट गराएको हो भन्नेबारे कही खुलेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।
यसअघि बिहिवार बागलुङमा पनि एनसेलको टावरमा आगजनी भएको थियो । बागलुङका विभिन्न ठाउँमा रहेका निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेएलका टावरहरूमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका ८ काँडेवाँस र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको हो ।
एनसेलको मात्रै ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ बक्यौता रहेको छ । संसद्काे अर्थ समितिको माघ २७ गते बसेको बैठकमा तथ्यांक प्रस्तुत गर्दै राजस्व सचिव लालशंकर घिमिरेले यस्तो जानकारी दिएका हुन्। समितिमा बोल्दै उनले मूल्य अभिवृद्धि कर, आयकर र गैरकर गरी ७२ अर्ब ६२ बक्यौता असुल्न बाँकी रहेको बताए।
कुल बक्यौतामध्ये एनसेलसम्बन्धी बक्यौता (टेलिया र निरज गोबिन्दको) मात्रै ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ छ । केहिदिन अघि मात्रै सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री वापदको पूँजीगत लाभकर एनसेलबाट उठाउन आदेश दिएको थियो । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको पूँजीगत लाभकर एनसेल र आजिएटाबाटै उठाउन आदेश दिएको हो ।