पर्वत, ८ फागुन। विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।
उता, बागलुङको जैमिनी नगरपालिका छिस्तीमा जिप दुर्घटनामा परी मृत्यु हुने ४ जना पुगेका छन् । स्थानीय जनकल्याण माविको बार्षिकोत्सव सकेर फर्केका बिद्यार्थी र अभिभावकहरु चढेको ध १ ज ७९१ नम्बरको जिप हिजो सडक देखि १ हजार मीटर तल भीरमा खसेको थियो ।
प्रहरी उपरिक्षक दिपक रेग्मीकाअनुसार, दुर्घटनामा विद्यार्थीहरु १२ बर्षिया ज्योती पुन, १५ बर्षकी प्रियंका पुन र एलिना पुन तथा शिक्षिका तुलसी पुनको मृत्यु भएको हो । गम्भीर घाईते ५ जनाको पोखरामा उपचार भइरहेको छ ।
झण्डै २५ जना सवार जिप उकालोमा तान्न नसकेर पछि हटेर भीरबाट खसेको अनुमान गरिएको छ । राती साँढे १२ बजे घाईतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल पुर्याईएको थियो । दुइजनाको घटनास्थलमै तथा अन्य दुइजनालाई उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनास्थल सदरमुकाम देखि ३६ किमी दक्षिणमा पर्छ ।