६ फागुन, विराटनगर । मोरङ प्रहरीले टिपरलाइ टाइम कार्ड लागू गर्ने तयारी गरेको छ ।टिपरको गतिले बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेपछि मोरङ ट्राफिकले छुट्टै टाइम कार्ड लागू गर्ने तयारी गरेको हो । प्रदेश १ मा हाल बिहान र बेलुका गरी जम्मा ४ घण्टा मुख्य राजमार्गमा टिपर कुदाउन प्रतिवन्ध छ ।
प्रहरीले तयार पारेको कार्डमा पुग्नुपर्ने दूरीको न्यूनतम समय निर्धारण गरिने र कार्डमा तोकिएको समयभन्दा छिटो पुगे टिपरलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए । व्यवसायीसँगको छलफलपछि ट्राफिक प्रहरीले दूरी अनुसारको समय निर्धारण गर्ने उनले बताए ।
प्रहरी निरीक्षक पोखरेलका अनुसार, कार्ड लागू भएपछि मुख्य राजमार्गमा खटिएका ट्राफिक प्रहरीले ड्राइभरलाई दिएको कार्डमा छुटेको समय र पुग्नु पर्ने समय लेखिदिएका हुन्छन् । कागजमा लेखिएको समय अर्काे स्टेशनमा बस्ने ट्राफिकलाई म्यासेज पनि गरिएको हुन्छ । टिपर व्यवसायीले टिपका आधारमा ड्राइभरलाई भत्ता दिँदै आएका छन् । छिटो टिप लगाउने लोभमा ड्राइभरले तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना बढिरहेका छन् ।
गत साउनयता टिपरका कारण २० वटा सवारी दुर्घटना भएका छन् । जसमा १० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका थिए । मोरङमा मात्र ८ वटा टिपर दुर्घटना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।