बालविवाह रोक्दै पुजारीः पुजारी भन्छन्- विवाह गर्ने जोडीकाे जन्ममिति हेरेर मात्रै मण्डपमा लगिन्छ

बालविवाह रोक्दै पुजारीः पुजारी भन्छन्- विवाह गर्ने जोडीकाे जन्ममिति हेरेर मात्रै मण्डपमा लगिन्छ

  • आइतवार, फाल्गुन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

लमही, ५ फागुन । 

पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।

तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार विवाहको सिजन हुने असोजमा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको हो ।

मन्दिरका पुजारी भट्टराईका अनुसार अहिले मन्दिरमा विवाह गर्न आउने जोडीको नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा राखिएको जन्ममिति हेरेर मात्रै विवाह गर्ने गरिन्छ । “नगरपालिकाले हामीलाई अभिमुखीकरण तालीम दिएपछि बालविवाहलाई रोक्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हामीले विवाह गर्ने जोडी आएपछि दुवै जनाको अनिवार्य नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको जन्ममिति हेर्ने गरेका छौँ ।”

बीस वर्ष पूरा नगरेका जोडीको विवाह नगराउने गरेको उहाँको भनाइ छ । “हामीले २० वर्ष पूरा नगरेका जोडीलाई अहिले लगन छैन, भनेर फर्काउने गरेका छौँ”, उहाँले भन्नुभयो, “उनीहरुको लगन २० वर्ष पूरा भएपछि मात्रै छ भन्ने गरेका छौँ ।” कतिपय जोडी तथा अभिभावकले विवाह गराइदिन दबाबसमेत दिने गरे पनि आफूहरुले उमेर नपुगेकालाई लगन नभएको भन्दै विवाह रोक्दै आएको उहाँको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने उद्देश्यले बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई प्रत्येक वर्षमा दुई पटक अभिमुखीकरण तालीम दिने गरिएको तुलसीपुर उपमहानगर स्तरीय बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका र नवजागरण महिला तथा बालबालिका केन्द्र (न्यूसिपिसी)को सहकार्यमा नियमित अनुगमन र अभिमुखीकरण तालीमले गर्दा अहिले पुजारीले पनि बालविवाह रोक्दै आएका छन् ।

मन्दिरमा बालविवाह रोकेपनि गाउँघरमै बालविवाह गर्नेहरुको सङ्ख्यामा भने कमी आउन नसकेको न्यूसिपिसीका कार्यक्रम संयोजक भीम खत्रीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ