काठमाडौं, १ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीले २४ वर्ष बितिसक्दा पनि जनयुद्धले लिएको लक्ष्य र उद्देश्य महान भएको बताएको छ ।
२४औं जनयुद्ध दिवसको अवसरमा कम्युनिस्ट पार्टी काठमाडौंले राजधानीको रत्पार्कस्थित शान्तिबाटिका आयोजित जनसभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मकर गुरुङले प्रचण्ड–बाबुराले धोका दिएर दक्षिणपन्थी संशोधनवादसामु आत्मसपर्मण गरेपनि जनयुद्धले लिएको उद्देश्य र लक्ष्य आजपनि महान भएको बताए ।
अधुरा पारिएका उद्देश्य र प्रतिवद्धतालाई विप्लव नेतृत्वको नेकपाले क्रान्तिको झण्डासहित उचाईमा उठाइसकिएको बताउँदै अब श्रमजीवि वर्ग दलाल संसदीय व्यवस्थासँग धेरै चिन्तित हुन नपर्ने नेता गुरुङले बताए । ‘अब नेकपाको पहलमा जनताले आफ्नो सत्ता आफैं निर्माण गर्ने यात्रा तय गरिसकेका छन्’ उनले भने ‘वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि तर्जुमा गरिएको एकीकृत जनक्रान्तिको अभियानमा लामवद्ध हुन अपिल गर्न चाहन्छु ।’
अखिल (क्रान्तिकारी)को विद्यार्थी साधारणा शाखा, जनगणतान्त्रिक सम्पर्क मञ्च, मजदुर साधारण शाखा र नेकपा काडठमाडौंले संयुक्त रुपमा निकालेको उत्सव र्यालीपछि शान्तिबाटिका जनसभा आयोजना गरिएको थियो ।
जनसभाका अध्यक्षता गरिरहेकी नेकपा काठमाडौंकी सेक्रेटरी भृकुटीले गरिब र मजदुर–किसानलाई अधिकार दिलाउन भनेर शुरु गरेको महान जनयुद्ध तत्कालीन नेतृत्व प्रचण्डको आत्मसमर्पण र विचलनकारी प्रवृत्तिका कारण परिवर्तनको क्रान्ति बिचैमा अलपत्र परेको बताउँदै त्यसलाई पूरा गर्ने कार्यभार नेकपाका महासचिव विप्लवको नेतृत्वमा अगाडि बढाएको बताइन् । जनयुद्ध दिवस सर्वहारा वर्गको उत्सव र गर्वको दिन भएको बताइन् ।
‘जनतालाई धोका दिएर आज प्रचण्ड शहरका आलिसान महलमा सुतिरहेका छन्’ उनले भनिन् ‘अब जनताले उनलाई तानेर गाउँगाउँ घुमाउने र जनताले गरेको बलिदानको इतिहास देखाइदिनेछन् ।’ केपी–प्रचण्ड नेतृत्वको दलाल संसदीय व्यवस्थाले जनताले दुःख र धोकाबाहेक केही नपाउने भन्दै उनले अब एकीकृत जनक्रान्तिको लाइनमा खडा हुन पिल गरिन् ।
जनसभमा नेकपा उपत्यका ब्यूरो सदस्य एवं युवा संगठनका केन्द्रीय सदस्य नरबहादुर कार्कीले प्रचण्डले माओवादी जन्मिने खतरा रहेको भनेर भ्रम दिएको भन्दै तर विप्लवको नेतृत्वमा पहिल्यै मालेमावादी जनमुक्ति सेना खडा भइसकेको स्मरण गराए । जनताको आफ्नो सेना अहिले पनि गाउँबस्तीमै जनताको अधिकारको रक्षामा तल्लिन रहेको उनको भनाई थियो । सत्तारुढ नेकपा नेता जनार्दन शर्मा प्रभाकरलाई संसदमा बसेर सरकारको विरोध गरेको स्वाङ नपार्न र जनमुक्ति सेनासँग आएर हातेमालो गर्न आए आफूहरुले रातो टीका लगाएर स्वागत गर्ने बताए ।
अखिल नेपाल किसान संघका अध्यक्ष राजु कार्कीले मुलुकबाट भ्रष्ट, दलाल र राष्ट्रघातीहरुलाई तह लगाउन जनताको सत्तासहित नेकपा खडा भई देशैभर अभियानमा लागिरहेको बताए । तत्कालीन जनयुद्धका नायक प्रचण्ड आजका दिनमा बुर्जुवाहरुसँग मिलेर केक काट्दै र लड्डु बाँड्दै हिँडेको देखेर जनताले नाक खुम्च्याएर हिँडेको बताए । अहिलेको बुर्जुवा गणतन्त्र ल्याउन केपी ओलीहरुको कुनै योगदान नरहेको भन्दै नक्कली कुरा गरेर जनतामा भ्रम नछर्न चेतवानी दिए ।
जनगणतान्त्रिक सम्पर्क मञ्चका कार्यवाहक अध्यक्ष सुरेश अधिकारीले स्वागत मन्तव्य राखेका थिए । जनसभामा नेकपा सल्लाहकार दीर्घ पाण्डे, नेवा मुक्ति मोर्चाका उपत्यका संयोजक सुरेन्द्र महर्जन लगायत नेताहरुको उपस्थिति रहेको थियो । जनसभाको संचालन अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले गरेका थिए ।
