काठमाडौँ, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी उदयपुरले संगठन सुदृणिकरण तथा बिस्तार अभियान –२ मा खटिएकाबेला बिना कारण गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ ।
नेकपा उदयपुरका सेक्रेटरी प्रशान्तले आईतवार बिज्ञप्ती जारी गरी शनिवार उदयपुरको त्रियुगा नगरपालीका १५ डहरबाट सङ्कल्प, मीन, अमृत, रीतु, गौरव र रामकृष्णसहित ६ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोले तत्काल रिहाइको माग गरेका छन् ।
उनले जनतासँग छलफल गरिरहेको अवस्थामा बिनाकारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरिएको भन्दै नेकपाले बिनासर्त रिहाइको माग पनि गरेको छ ।
राज्यले दमनविरुद्ध विद्रोह गर्न सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अभियानका क्रममा पार्टीका पक्षमा र दलालहरुका विपक्षमा जनलहर व्यापक बनेपछि अत्तालिएका दलालहरु हिंस्रक विकल्प खोज्दै विभिन्न बहानामा अभियान विफल बनाउन देशैभर षड्यन्त्रको तानाबाना बुनिरहेको उल्लेख छ ।