उपत्यकाका पहाडमा हिमपातः रौतहटमा २७ बर्ष यताकै ठुलो असिना पानी

उपत्यकाका पहाडमा हिमपातः रौतहटमा २७ बर्ष यताकै ठुलो असिना पानी

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौ, २६ माघ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । काठमाडौँमा २१.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, वीराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा आज बिहान ९ बजेसम्म वर्षा भए पनि अहिले केही स्थानमा आकास खुला भएको छ । कतिपय स्थानमा माम लागे पनि धेरैजसो स्थानमा बदली देखिन्छ । बदली र वर्षाले उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।

आज काठमाडौँको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्रिमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाका मौसमविद शान्ति कँडेलले बताउनुभयो । “अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउछ,”–उहाँले भन्नुभयो ।

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर बदली र वर्षाका साथै हिमपातको सम्भावना औंल्याएको छ । आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने छ भने मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा मध्यम हिमपात हुनेछ ।

रातको समयमा पनि पूर्वी भेगमा सामान्य बदली र थोरै स्थान तथा मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । भोलि आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २८ गते सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । पहाडी भेगमा सामान्य बदली रहेपनि बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, रौतहटकोे गुजुरा नगरपालीका ३ सिम्रि, धनसार लगायतका स्थानमा असिनापानी परेको छ । सिम्रिका किसान कृष्ण बस्नेतले राति मध्य १२ बजे परेका असिनाले खेतबारी नष्ट पारेको बताए । यस्तो असिना यसअघि २७ बर्ष पहिले मात्र परेको हेममाया बस्नेतले बताईन ।
राति सानो सानो असिना परेपनि झण्डै आधा घण्टा जति परेको र पुरै खेलमा लगाईएको तरकारीबालि र अन्नबाली पुरेको उनले बताईन । कतिपय स्थानीयको छाप्रोमा समेत क्षति पुर्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ