काठमाडौं, २५ माघ ।
राष्ट्रिय उद्योग वाणिज्य महासंघले सरकारले लगाएको दोहोरो कर बन्द गर्न माग गरेको छ । साथै राष्ट्रिय पूँजीलाई विस्थापन गराउने राज्यको औद्योगिक नीतिको पनि विरोध गरेको छ ।
राजधानी काठमाडौंमा शुक्रबार एक पत्रकार सम्मेलन गरी महासंघले केन्द्र, प्रदेश, स्थानीय तहले लगाएको दोहोरो करले उद्यमीहरु चर्को करको मारमा परेको जनाउँदै त्यसकिसिमको कर तत्काल बन्द गरेर सर्वसारधारणको दैनिकीलाई सहज बनाउन सरकारसँग माग गरेका छन् ।
पत्रकार सम्मेलनमा संचारकर्मीको प्रश्नको जवाफ दिँदै महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले अर्बौं रुपैयाँ कर छली गर्ने एनसेललाई उन्मुक्ति दिने सरकारले सडकपेटीमा मकै पोल्ने साना व्यापारीसँग कर लिने नैतिकता नभएको भन्दै विरोध गरे । मुलुकमा व्यापारको नाममा दलाल पूँजी भित्रिएको र त्यसलाई सरकारले थाहा नपाएझैं गरेर राष्ट्रिय पूँजी निर्माणमा घात गरिरहेको अध्यक्ष बस्नेतले बताए । साथै उनले राज्यले लगाएको दोहोरो कर प्रणालीको डटेर विरोध गर्न राष्ट्रिय उद्यमीहरुसँग अपिल समत गरेका छन् ।
अध्यक्ष बस्नेत र महासचिव योगेश बुढाथोकीद्वारा हस्ताक्षरित दुई पृष्ठको विज्ञप्तिमा सरकारसँग दलाल पुँजीको खारेजी र दोहोरो कर आतंक बन्द गर्न माग गरिएको छ । यही माघ १५ गते चितवनमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित बस्नेत नेतृत्वको नयाँ कार्यसमितिले गरेको आजको पहिलो पत्रकार सम्मेलनमा विज्ञप्तिमार्फत १३ बुँदे नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
जसअनुसार घरेलु र साना उद्योगलाई राष्ट्रिय उद्योगमा विकास गर्नुपर्ने, चोरीनिकासी र राजश्य छलीको अन्त्य तत्काल गर्नुपर्ने, नीजिकरणका नाममा बन्द गरिएका उद्योगहरु सरकारले संचालन गर्नुपर्ने, कृत्रिम अभाव सिर्जना गराउनेमाथि कारवाही गर्नुपर्ने, राष्ट्रिय औद्योगिक विकासमा बैंक र वित्तीय क्षेत्रलाई अनिवार्य सहभागी गराउनुपर्ने, गुणस्तरीय तथा प्रतिस्पधाृत्मक उत्पादनलाई सहज रुपमा बजारीकरण गराउन ठोस कदम चाल्न पहल लिने लगायत कार्यक्रम घोषणा गरिएको छ ।
महासंघ देशभक्त, प्रगतिशील उद्योगी र व्यवसायीहरुको साझा संगठन हो । नेपाल कम्युनिस्ट पार्टीनिकट यो महासंघले घोषित कार्यक्रमहरु कार्यान्वयन गराउन शान्तिपूर्ण संघर्षको बाटो लिने समेत अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विज्ञप्ति:
