धादिङ, २५ माघ ।
बिनाकारण आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी झुठा मुद्दा लागएको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आज शुक्रबार आह्वान गरेको धादिङ जिल्ला बन्दको प्रभाव जिल्लाभर परेको छ । जिल्लाभित्र पर्ने मुख्य राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा एकाध सवारी साधन चलेपनि बाँकी रुटहरुमा सवारीसाधन चलेका छैनन् ।
बिहानैदेखि जारी बन्दआज साँझ ५ बजेसम्म रहने कम्युनिस्ट पार्टी धादिङले जनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रका सडक पूर्णरुपमा बन्द रहेको र मुख्य राजमार्गमा सुरक्षा गस्ती दिएर केही सवारी चलाएको पाइएको नेकपा धादिङले जानकारी दिएको छ ।
यसैबीच सिद्धलेक गाउँपालिकाको बुङचुकस्थित वैरेनीमा करिब अढाई घण्टाअघि दुईवटा बम विष्फोट भएको जानकारी प्राप्त भएको छ । हाम्रा धादिङ संवाददताले दिएको जानकारी अनुसार वैरेनीस्थित सडकमा राखिएको दुई वटा शक्तिशाली बम सुरक्षाकर्मीको टोलीले निष्क्रिय पार्ने क्रममा विष्फोट भएको हो ।
अहिलेसम्म बम राखेको घटनाको जिम्मेवारी कुनै पक्षले लिएको छ । यद्यपि बन्द गर्ने पक्षले नै राखेको आशंका भने सुरक्षा निकायले गरेको छ ।
यही बुधबार पार्टीनिकट जनवर्गीय संगठनहरु युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कुवेर घिमिरे ‘सुरक्षा’ युवा संगठनकै धादिङ जिल्ला अध्यक्ष ईश्वर श्रेष्ठ ‘चट्टान’ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङका त्रिचन्द्र देवकोटा ‘इच्छुकलाई सिद्धलेक गाउँपालिका पुङ्चुङबाट भित्तेलेखन गरिरहेको अवस्थामा प्रहरीको एक टोलीले गिरफ्तार गरेको थियो ।
गिरफ्तारपछि तीनै जनलाई धादिङबेंसीस्थित प्रहरी हिरासतमा राख्दै आएको छ । उनीहरु सबैजनाविरुद्ध सार्वजनिक मुद्दा लगाइएको जनाइएको छ ।
हिजो बिही नेकपा धादिङका सेक्रेटरी बुद्धले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना निर्दोष नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेर शान्तिपूर्ण राजनीति गतिविधि गर्न पाउने अधिकारमाथि सरकारे हस्तक्षेप र दमन गरेको भन्दै त्यसलाई रोक्न र गिरफ्तार नेताहरुलाई बिनासर्त रिहा गर्नुपर्ने मागसहित आज धादिङ बन्दको घोषणा गरेका थिए ।
आजै बिहान बन्द जारी रहेको समयमा चलाइएका दुईवट मालवाहक ट्रकमाथि सिद्धलेकको कालीदहस्थित तोडफोड गरेका छन् ।
पछिल्लो चरणमा सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाभि जनजागरण तथा शान्तिपूर्ण राजनीतिक अभियान जारी राखिराखेकै बेला पनि निगरानी, हस्तक्षेप र गिरफ्तारलाई बढवा दिएको छ ।