बाँके, २३ माघ ।
७२ अर्ब रुपैयाँ आयकर छली गरेको भन्दै एनसेलविरुद्ध जारी विरोध प्रदर्शन दिनानुदिन बढ्दै गएको छ ।
मुलतः नेपाल कम्युनिस्ट पार्टीले कर छलीको विरोधको नेतृत्व गरिरहेको बेला उसका भातृ संगठनहरुले पनि देशैभर विरोध र चर्का नाराबाजीलाई निरन्तरता दिइरहेका छन् ।
यसैबीच आजै मात्र बाँकेको कोहलपुरमा पार्टीको युवा संगठन र विद्यार्थी संगठन अखिल (क्रान्तकारी)ले संयुक्त रुपमा विरोध र्याली निकालेर कोणसभा गरेको छ ।
कोणसभामा बोल्ने वक्ताहरुले सरकारले बिनाकारण आफ्नो संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरी झुठा मुद्दा चलाउन खोजेको भन्दै विरोध गरे । साथै अर्बौं रुपैयाँ आयकर छल्दै आइरहेको एनसेललाई तत्काल राज्यलाई कर चुक्त तिर्न आह्वान गरेका छन् ।
अखिल (क्रान्तिकारी) भेरी व्युरो तथा युवा संगठन नेपाल भेरी व्युरोले सयुक्त सम्पन्न गरेको र्यालीपछिको कोणसभा बोल्ने सबैजसो वक्ताहरुले सरकारको दमन र धरपकडको भत्सर्ना गरेका छन् । अखिल (क्रान्तिकरी) बाँकेले बाँकेका अध्यक्ष मदन चन्दकाे नेतृत्वमा विरोध र्याली निकालिएकाे छ ।

कोण सभालाई अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा भेरी व्युरो संयोजक पुष्पराज न्यौपाने र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा भेरी व्यरो संयोजक बिष्णु जिसीले गिरफ्तार विद्यार्थी नेता विरेन्द्र विकलाई बिनासर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गरे । मागको सुनुवाई नभई कडा आन्दोलन घोषणा गर्ने र यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारनै हुनुपर्ने चेतावनी उदनीहरुले दिएका छन् ।
त्यस्तै कर छलेर नागरिकमा लुट मच्चाएको भन्दै एनसेललाई सबै कर तत्काल राज्यलाई तिरेर नीतिनियमभित्र रहन आग्रह गरे । उनीहरुले भने ‘नम्र स्वरले कर तिर्न भनिरहेका छौं, सुन्ने काम भएन भने परिणाम यसै भन्न सकिन्न, यो कुरा एनसेलका मालिककहाँ पुर्याइयोस् ।’
विरोध र्यालीमा सयौं विद्यार्थी र युवाहरुले भाग लिएका थिए । उनीहरुले जनविरोधी र राज्यअपराध गर्नेलाई कुनै हालतमा छाड्न नहुने भन्दै माग सुनुवाई नभएसम्म विरोध जारी राख्ने बताए । विद्यार्थीहरु कलेज र विद्यालय पोशाकमा सहभागी थिए ।
हेर्नुस् तस्बीरहरु:
