काठमाडौं, १८ माघ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष चिरिञ्जीवि ढकालले संगठनले जारी राखेको ‘कम्युनिष्ट विद्यार्थी अभियान’को प्रभाव थेग्न नसक्ने भएर संगठनका कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरी गम्भीर आरोप लगाएको बताएका छन् ।
अभियानपछि देशैभर फैलिएको प्रभावलाई थेग्न नसक्दा सरकारले विद्यार्थी नेता विकलाई गिरफ्तार गरी गम्भीर आरोपमा मुद्दा चलाउने ठूलो षडयन्त्र रचेको जनाउँदै अध्यक्ष ढकालले गिरफ्तारको घोर भत्सर्ना गरे । सरकार विद्यार्थी नेताहरुलाई सुनियोजित रुपमा झुठा मुद्दा चलाउन उद्यत रहेको भन्दै आपत्ति जनाए ।
‘कोषाध्यक्ष नरेन्द्र विक निर्दोष छन् । उहाँलाई बिनासर्त तुरुन्त रिहा गर्नुपर्छ’ अध्यक्ष ढकालले मिर्मिरे अनलाइनसँगको कुराकानीमा भने ‘अन्यथा हामी दलाल पूँजीवादी केपी ओली सरकारविरुद्ध कडा आन्दोलनको घोषणा गर्न बाध्य हुन्छौं । त्यसबाट उत्पन्न परिणामको पूर्ण जिम्मेवार यही फासीवादी सरकार हुनेछ ।
नेता विकमाथि ‘गोली बरामद’ अभियोग सरासर गलत भएको बताउँदै विद्यार्थी नेतासँग रहने पुस्तक कलमलाई फासीवादी सरकारले गोली देख्नु विडम्बना भएको अध्यक्ष ढकालको भनाई छ । ‘परिवर्तनको पक्षमा लाखौं विद्यार्थीको उर्लँदो समर्थन र लहर देखेपछि नेताको झोलामा गोली हालिदिएर फसाउन खोजिएको छ । यसले सरकार र प्रशासनलाई नै राम्रो गर्दैन’ अध्यक्ष ढकालले भने ‘सिंगो संगठनविरुद्ध जाने सरकार र त्यसका प्रशासनले बेलैमा बुद्धि पुर्याएर निर्दोष नेता विकलाई रिहा गरियोस् । झुठा आरोपले क्रान्ति र परिवर्तन रोकिने विषय होइन ।’
अभियनका क्रममा संगठनमा हजारौं विद्यार्थीहरु भएको र परिवर्तनको पक्षमा युवा विद्यार्थी लामवद्ध भई क्रियाशील रहेको समेत उनले स्पष्ट पारे । उनले भने ‘क्रान्तिकारीहरु झुठा अभियोग र आतंकसँग हरदम प्रतिवाद गर्न तत्पर रहन्छन् ।’ संगठन यतिबेला सामाजिक विकृति, शिक्षामा चरम बढिरहेको माफियाकरण र नीजिकरण, कर छलीको आरोप खेपिरहेको एनसेलविरुद्ध भण्डाफोर तथा विरोध प्रदर्शन कार्यक्रममा सक्रिय रहेको छ । कार्यक्रम ‘कम्युनिष्ट विद्यार्थी अभियान–२०७५’कै एक अशं हो ।
नेता विकलाई केन्द्रीय योजनाअनुरुप पूर्वमा पुगेको बेला बिहीबार साँझा विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो । विकमाथि ‘गोली बरामद’को आरोप लगाइएको छ ।
यसै विषयलाई लिएर अखिल (क्रान्तिकारी)ले आज दिउँसो राजधानीमा पत्रकार सम्मेलन गर्दैछ । सम्मेलनबाट संघर्षका कार्यक्रम घोषणा गरिने बताइएको छ ।