काठमाडौं, माघ ४ । स्वास्थ्य अवस्था जटिल भएपछि अनशनरत प्रा.डा.गोविन्द केसीलाइ काठमाडाैं ल्याइएकाे छ । चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा ९ दिनदेखि अनशनरत बस्नुभएका उहाँलाई गएराति काठमाडौं ल्याइएको हाे ।
डा. केसीलाई इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।
उहाँकाे अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ । हिजोदेखि उहाँको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । उहाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकको सल्लाह र नागरिक अगुवाहरुको पहलमा काठमाडौं ल्याइएको हो ।
डा. केसीलाई काठमाडौं ल्याउन पहल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको टोली हिजो इलाम पुगेको थियो ।