काठमाडौं, २८ पुस ।
नेपाल कम्युनिष्ट पार्टीले दुईमहिन अभियान चलाउने भएको छ । अभियान आउँदो माघ १ गतेदेखि शुरु हुँदैछ । सो कार्यक्रम शुरुपूर्व उसले देशैभरका ब्यूरोहरुमा यसअघि चलाइएका राजनैतिक, सांगठनिक तथा संघर्षका कार्यक्रमहरुबारे समिक्षा गरेको छ ।
यसैबीच शनिबार पार्टीको उपत्यका विशेष ब्यूरोले राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । ब्यूरोका ईन्चार्ज प्रज्वलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा गत भदौदेखि पार्टी चलाएको संगठन सुदृढ तथा विस्तारको अभियानको ब्यूरोले गरेको समीक्षा तथा ब्यूरोको आगामी कार्यक्रमबारे पनि प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षणमा बोल्दै ईन्चार्ज प्रज्वलले प्रचण्डले नेपाली क्रान्तिलाई धोका दिएर दलाल संसदीय व्यवस्थामा लम्पसार परेपछि पनि मुलुकमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशासाथ नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिलाई नयाँ शिराबाट जारी राखेको बताए ।
समीक्षामा सरकार उसकै बुद्धिले नेपाल कम्युनिस्ट पार्टीमाथि चलाएको दमन र झुठा मुद्दा श्रृंखला उसैलाई प्रत्यूत्पादक भएको निस्कर्ष निकालिएको छ । अभियान चलाएयता मंसिर ८ को काठमाडौंमा सम्पन्न विशाल जनसभासम्म आइपुग्दा पार्टीले थप उचाई प्राप्त गरेको निचोडमा पार्टी केन्द्र पुगेको जानकारी पनि प्रशिक्षणमा दिइएको थियो ।
पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई क्रान्तिबाट भागेर दलाल संसदीय व्यवस्थाको टाङमुनि छिरेर धनढ्य बनेकोमा कुनै अनौठो नभएको उनको भनाई थियो । ‘क्रान्तिबाट भागेका प्रचण्डले विश्वमै अब क्रान्ति संभव छैन भनेर आत्मसमर्पण गरिसकेको अवस्थामा नेपालमा क्रान्ति संभव छ भन्ने कुरा उनकै अगाडि आफ्नो पार्टीले देखाइरहेका छौं’ नेता प्रज्वलले भने । प्रचण्ड अहिले प्रतिक्रान्तिका नाइके बन्न लागेको तर त्यसले एकीकृत जनक्रान्तिलाई कुनै फरक नपर्ने उनको भनाई छ ।
सोही अवसरमा पार्टीले तयार पारेको कम्युनिस्ट आर्थिक दृष्टिकाेणबारे पनि जानकारी दिइएको छ । नीतिले जनताको जीवनलाई मुख्य केन्द्रमा राखेर नीति बनाइएको छ । ‘दलाल’ संसदीय व्यवस्थामा नेता र दलालहरु धनी र जनता गरिब हुने आर्थिक भएकै कारण नागरिकको जीवन चरम गरीबिको खाडलमा परेको नेता प्रज्वलले बताए । प्रशिक्षणमा विशेष ब्यूरोका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।