षडानन्द नगरपालिका– १२ देउराली झ्याँउपोखरीकी २८ वर्षीया रिता श्रेष्ठको मृत्युका विषयमा यतिवेला अनेक शंका–आशंका सुरु भएको छ । उनको मृत्यु आत्महत्या नभएर हत्या भएको माइती पक्षको दाबी छ । रिताको शव यही पुस २२ गते घरनजिकैको सालको रूखमा झुन्डिएको अवस्थामा भेटिएको थियो । लास झुन्डिएको रूखको फेदमा मेटासिडको तीनवटा बोतल भेटिएका थिए । त्यसमध्ये एउटा खाली र अर्को नखोलिएको अवस्थामा थियो । कालो प्लास्टिकमा पोको पारेको अवस्थामा भेटिएको बोतल पनि मेटासिडकै रहेको प्रहरीले जनाएको छ ।
‘दाइजोले पारिवारिक खटपट’
षडानन्द नगरपालिका– ८ तुंगेछाका बलबहादुर श्रेष्ठ र ईश्वरमाया श्रेष्ठकी माइली छोरी रिताको राजकुमार श्रेष्ठसँग ०६४ सालमा विवाह भएको थियो । विवाह भएको सुरुबाटै दाइजोको विषयलाई लिएर श्रीमान् पक्षले मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको माइती पक्षको दाबी छ । मृतकका दाजु देवी श्रेष्ठका अनुसार रिताले दाइजोको निहँुमा परिवारबाट अवहेलित हुनुपरेको र यातना खप्नुपरेको गुनासो गर्ने गरेकी थिइन् । ‘बिहे गरेर गएको सालबाटै केटा पक्षले दाइजोको विषयलाई बढी जोड्ने, गालीगलोज गने, गरेपछि दुवै परिवारबीच बोलचाल राम्रो हुन छाडेको थियो,’ उनले भने ।
‘विदेशबाट फर्किएपछि फेरि यातना’
राजकुमार दुईपटक विदेश गए । दोस्रोपटक फर्किएपछि उनी रितासँगै बस्न थालेका थिए । तर, दाइजोकै विषयलाई लिएर कुटपिट गर्ने र यातना दिने काम बन्द भएन । श्रीमान्ले पटक–पटक यातना दिएपछि दुई भाइ छोरामध्ये सहाराका लागि कान्छा छोरा लिएर जान्छु भन्दा पनि घरपरिवारले नदिएको माइती पक्षको आरोप छ । माइती पक्षका अनुसार मृत्युको अघिल्लो दिन पनि मोबाइलको विषयलाई लिएर रितामाथि राजकुमारले कुटपिट गरेका थिए । ‘आफूमाथि कुटपिट भएपछि रिताले विराटचोक बस्दै आएकी ठूली दिदी गोमा कार्कीसँग फोनमा वार्तालाप गर्नुभएको थियो । त्यसै बेलुकी समाज भेलामा कान्छा छोरालाई आफ्नो साथमा रहन दिन आग्रह गरे पनि परिवारले नमानेको कुरा रिताले फोनमा दिदीलाई सुनाउनुभएको थियो,’ भाइ उमेश श्रेष्ठले भने ।
श्रीमान् प्रहरी हिरासतमा
पुस २१ गते मृतक रिता सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि माइती पक्षले सुनियोजित हत्याको आशंकामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कर्तव्य ज्यान मुद्दाको उजुरी गरेको थियो । माइती पक्षका अनुसार छोरी सम्पर्कविहीन भएपछि उनको पहिचानका लागि हुलिया कागजी दिन प्रहरी चौकी देउरालीमा गए पनि प्रहरीले मानेको थिएन । त्यसपछि इलाका प्रहरी कार्यालय दिङ्लामा पीडित पक्षले हुलियाका लागि सूचना दिएको थियो । अनि, इलाका प्रहरीले आदेश दिएपश्चात् बल्ल प्रहरी चौकी देउरालीले हुलियासहित खोजी थालेको थियो । घटनाका आरोपित ३१ वर्षीय राजकुमारलाई पीडित माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिप्रका भोजपुरका डिएसपी केशवकुमार थेवेले बताए । प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको उनले बताए । डिएसपी थेवेले पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले त्यसपछि मात्रै थप बोल्न मिल्ने बताए ।
‘श्रीमान्को दोस्रो बिहे’
मृतक रिताका ६ र ९ वर्षका दुई छोरा छन् । पारिवारिक स्रोतका अनुसार राजकुमारले अर्की युवतीसँग पनि विवाह गरिसकेका थिए । उनी केही समयका लागि विदेश गए पनि घरमा पैसा पठाएनन् । दोस्रो विवाह गरेर राजकुमार काठमाडौंतिर बसेपछि उनको परिवारले रितालाई थप हेला गर्न थालेको माइतीको दाबी छ । ‘दिदीले मलाई सबै कुरा सुनाउनुहुन्थ्यो । भेनाले दोस्रो बिहे गरेपछि घरका अन्य सदस्यले थप यातना दिन थालेका थिए । जसका कारण, उहाँ केही समय छुट्टै बस्नुभएको थियो,’ बहिनी संगीता श्रेष्ठले भनिन् । नयाँपत्रिकाबाट साभार