एक महीनामा एक करोडको सुन्तला बिक्री, १५ हेक्टर सुुन्तलाको पकेट क्षेत्र 

एक महीनामा एक करोडको सुन्तला बिक्री, १५ हेक्टर सुुन्तलाको पकेट क्षेत्र 

  • बिहिबार, पुस २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

–सुरेन कुँवर, रत्ननगर, २६ पुस : तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।

“मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भन्नुभयो । उहाँका अनुसार सहकारीमा आबद्ध ८५ कृषक सदस्यले ८० बिघा जमीनमा सुन्तला खेती गरेका छन् ।

गत वर्ष सहकारीले रु दुई करोड बराबरको सुन्तला बिक्री गरेको थियो । उहाँले भन्नुभयो, “अहिले एक महीनामै रू एक करोड नाघेको छ, अझै एक महीना बाँकी छ, रू दुई करोड सजिलै पुग्छ ।”

“बोटबाटै आधाआधी जती सुन्तला बिक्री भइसकेको छ, माघको दोस्रो हप्तासम्म सुन्तला बिक्री गरिन्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “तामिन सहकारीबाट मात्र यस वर्ष रू दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान छ ।”

उक्त सहकारीमा आबद्ध तामिन, ठङराङ, साठीमुरे, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले १० बिघासम्ममा सुन्तला खेती गर्दै आएका छन् ।

सहकारीले सुन्तलाको पकेट क्षेत्रअन्तर्गत बेलाबेलामा तालीम दिनाका साथै सुन्तलाको बिरुवासमेत वितरण गरेको थियो । यसबाट किसानको आर्थिक अवस्थामा पनि सुधार भएको उहाँको भनाइ थियो ।
सहकारीमा आबद्ध किसानले आफूखुशी सुन्तला विक्री गर्न पाउँदैनन् सहकारीमार्फत नै सुन्तला बिक्री हुँदै आएको छ । “किसानले सहकारीमा सुन्तला ल्याउँछन्, तौलन्छन् अनि सहकारीले व्यवसायीलाई बिक्री गर्छ” उहाँले भन्नुभयो, “किसानका सुन्तला सहकारीमार्फत नै उचित मूल्यमा बिक्री भइरहेका छन् ।”

सुन्तला किसानका अनुसार ग्रेड नगरेको सुन्तला यतिबेला प्रतिकिलो रु ६५ देखि ७० मा बिक्री भइरहेको छ भने ग्रेड गरेको सुन्तला प्रतिकिलो रु १०० मा बिक्री भइरहेको छ । तामिनको सुन्तलाको मुख्य बजार मुग्लिन हो । गोर्खा, लमजुङ, चितवन र पूर्वका जिल्लामा समेत यहाँको सुन्तला पुग्छ । दुई वटा पात भएको सुन्तला तामिनको सुन्तला भन्ने बुझिन्छ ।

१५ हेक्टर सुुन्तलाको पकेट क्षेत्र 

जिल्लास्थित कृषि ज्ञान केन्द्रले इच्छाकामना–५ र ६ मा रहेको तामिन क्षेत्र, तल्लो काउले क्षेत्र, ३ मा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । केन्द्रका प्रमुख सुधीर श्रेष्ठका अनुसार झन्डै १५ हेक्टर जमीनलाई सुुन्तलाको पकेट क्षेत्र घोषणा गरिएकोे हो ।

उहाँले भन्नुभयो, “इच्छाकामनाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा गरिएपछि यसतर्फ किसान आकर्षित भएका छन् । इच्छाकामनामा वर्षेनी पाँच हेक्टरका दरले सुन्तला खेतीको विस्तार भइरहेको छ ।”
“गत वर्ष इच्छाकामनामा २४४ हेक्टर जमीनमा सुन्तला खेती गरिएको थियो ।” उहाँले भन्नुभयो, “यो वर्ष झन्डै २५० हेक्टरमा सुन्तला खेती गरिएको छ ।” सुन्तला खेती राम्रो भएमा एक हेक्टर जमीनमा १० मेट्रिकटनसम्म सुन्तला उत्पादन हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी