काठमाडौं, २५ पुस ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालको ‘जनसञ्चार अभियान’को उद्घाटन गरिएको छ । कालिकोटको रास्कोटमा संगठनका अध्यक्ष प्रकाश डुम्रेले अभियानको उद्घाटन बुधबार गरेका हुन् ।
‘आस्था, विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीविको हक, हित र जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारा बोकेको संगठनले जनपक्षीय पत्रकारिताको आवश्यकता देशमा झनै बढ्दै गएको जनाएको छ ।
यही पुस ७ र ८ गते बुटवलमा सम्पन्न भएको संगठनको दोस्रो पूर्ण बैठकले तीन महिने जनसंचार अभियान संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप ७७ वटै जिल्लामा उक्त अभियान चलाउने संगठनले जनाएको छ ।
आज भएको उद्घाटनका कार्यक्रममा संगठनका महासचिव हिम विष्ट, कोषाध्यक्ष जानकी चौधरी, भेरी–कर्णाली र गण्डक–धौलागिरी क्षेत्रीय संयोजक क्रमशः टीका केसी र ओमबहादुर हमाल सहभागी थिए ।
उद्घाटन सत्रमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्जलगायत नेताहरुले अभियानको शुभकामना दिएका छन् ।
उद्घाटन भएसँगै अब अभियान देशैभर क्षेत्र र जिल्ला तहबाट चलाइने भएको छ । यसबीचमा समसामयिक विषयमा अन्तरक्रिया तथा पेशागत हक हित र अधिकारको लागि विरोधका कार्यक्रम समेत संचालन गरिने संगठनले जनाएको छ । सोही अवसरमा भेरी-कार्णाली स्तरीय जनपक्षीय पत्रकारिता तालिम पनि शुरु गरिएको छ ।
यसअघि गएकाे असाेज २ गते दाङमा सम्पन्न पहिलो बैठकपछि मसिर १२ गतेसम्म ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्र’ विषयक मेचीकाे ताप्लेजुङदेखि महाकाली कञ्चनपुरसम्म गरी पन्ध्र जिल्लामा चलाइएकाे थियो ।
