काठमाडौं, २५ पुस ।
नेपाल कम्युनिस्ट पार्टीले चलाएको जनसभा र साँस्कृतिक कार्यक्रमले ग्रामीण क्षेत्र रातम्य बनेको छ । उसले चलाइरहेको राजनीतिक अभियानले शहरबजारदेखि दुर्गम गाउँका बस्ती, पाखा, डाँडा नै रक्तिम बनेको छ ।
यसैबीच अछामको सदरमुकाम मंगलसेन बजारमा यही २२ गते उद्घाटन गरिएको कार्यक्रमपछि जिल्लाका गावँैभर रातो झण्डा र राता पोशाकका मान्छेहरुको लवलस्करले गाउँनै रातो भएको छ । स्थानीयले जनयुद्धकालीन परिवेशको झल्को मिलेको प्रतिक्रिया दिएका छन् । आफ्नै गाउँटोलमा जनताको सत्ता आएको जिकिर समेत गर्ने गरेको आयोजक पक्षले बताएको छ ।
पार्टीनिकट सामना परिवारले २३ गते कमलबजार र २४ गते रामारोसनको मुजाबगरमा बेजोड रुपमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । सोही क्षेत्रहरुमा नेपाल कम्युनिस्ट पार्टी अछामले जनसभा कार्यक्रम पनि सम्पन्न गरेको छ ।
कार्यक्रम अवधिमा पूर्वमाके तथा विभिन्न पार्टी त्याग गरेर आएका तीन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई महाकाली ब्यूरो ईन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य तथा जनसभाका प्रमुख अतिथि रामप्रसाद तिमिल्सेना ‘राप्ती’ले टीका र खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।
नेता राप्तीले गाउँगाउँबाट दलाल–सामन्त र भ्रष्टाचारीलाई खेद्न अछामवासी फेरि एकजुट हुनुपर्ने बताए । जनयुद्धले गाउँबाट सामन्तलाई खेदेपनि अहिले दलाल संसदीय व्यवस्थाको खोले ओढेर दलाल र गुण्डाहरु गाउँ पसेको नेता राप्तीको भनाई छ । अब तिनलाइ खेद्न जनता उठ्नुपर्ने बताए ।
जनसभमा अछाम जिल्ला इन्चार्ज शेरबहादुर विक ‘दर्शन’, डोटी जिल्ला इन्चार्च शिखर, दार्चुला जिल्ला किसान मुक्ति मोर्चा क्रान्तिकारीका कालीबाहादुर शाही, क्रान्तिकारी विद्यार्थी संगठन कैलालीका अध्यक्ष झलक विक अतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी केबि बडुवालले गरेका थिए भने कार्यक्रम को सञ्चाल्क आरोहले गरेका थिए ।









