काठमाडौं, २२ पुस ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालको काठमाडौं जिल्ला भेला आयोजक कमिटीको संयोजकमा जितेन्द्र महर्जन चयन भएका छन् ।
शनिबार बसेको क्रान्तिकारी पत्रकार संगठन नेपाल भेला आयोजक तयारी समितिको बैठकले महर्जनको नेतृत्वमा ९ सदस्यीय कमिटी चयन गरेको संगठनका काठमाडौं उपत्यका समन्वय समितिका संयोजक सागर लामाले जानकारी दिएका छन् ।
बैठकले कमिटीका सदस्यहरुमा रिदेन महर्जन, रुपा महर्जन, रज्यरत्न बज्राचार्य, केशब महर्जन, गंगा महर्जन, पुण्यराज शाक्य लगायत रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी भृकुटीले मुलुकमा ‘दलाल’ राज्यव्यवस्था हाबी भएको विद्यमान परिस्थितिमा सर्वहारा र श्रमिक वर्गको आवाजलाई समाचारको माध्यमबाट उजागर गर्न अत्यावश्यक रहेको भन्दै त्यसको जिम्मेवारी पूरा गर्न जनपक्षीय पत्रकारिताको खाँचो दिनानु बढ्दै गएको बताइन् ।
‘मुलुक दलाल राज्यसत्ताको घेरा परेको छ । यो अवस्थामा श्रमिक र पीडित जनताको आवाज लेख्ने र बोल्ने संचारमाध्यम र संचारकर्मीको आवश्यकता निकै बढिरहेको छ’ सेक्रेटरी भृकुटीले भनिन् ‘त्यसको भूमिका निभाउने काम अब क्रान्तिकारी पत्रकारहरुले गर्नुपर्छ । त्यसनिम्ति भेला आयोजक कमिटी पूर्णसफल हुनेछ भन्ने विश्वास लिएकी छु ।’
बैठकमा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना, नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला प्रतिनिधि दीपक लगायतको उपस्थिति रहेको थियो ।
बैठकका विशेष अतिथि सचिव तिम्सिनाले बोल्दै भ्रष्टाचार र अन्यायको समाचार लेख्न क्रान्तिकारी पत्रकारहरु निडर भएर लाग्नुपर्ने धारणा राखिन् । सरकारले स्वतन्त्र प्रेसलाई अंकुश लगाउने हर्कत नरोकेको भन्दै संगठनले त्यस हर्कतविरुछ संघर्ष गर्ने बताइन् ।