राष्ट्रिय जलवायु सम्मेलन सोमबारदेखि सिन्धुपाल्चोकको गुफाडाँडामा हुँदै

राष्ट्रिय जलवायु सम्मेलन सोमबारदेखि सिन्धुपाल्चोकको गुफाडाँडामा हुँदै

  • आइतवार, पुस १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, १५ पुस ।

जिल्ला समन्वय समिति ९जिसस० महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हँुदैछ । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनका लागि काठमाडौँबाट जाने अधिकांश सहभागी आज त्यसतर्फ प्रस्थान गरिसकेको आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई सचेत गर्ने सम्मेलनको मूलध्येय रहेको छ । जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ ।

“जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ” संयोजक तामाङले भन्नुभयो । सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको विश्वास छ ।

सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनालाई निम्त्याइएको छ । सम्मेलनस्थलमा पोलमा ७७ वटै जिल्लाको नाम अङ्कित नेपालको झण्डा राखिएको छ । उहाँले भन्नुभयो, “सम्मेलनको उद्घाटनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख वा लिखित अख्तियारी प्राप्त समन्वय समितिका अन्य अधिकारीले प्रमुख अतिथिसगै जिल्लाको नाम अङ्कित झण्डोत्तोलन गर्नुहुनेछ ।” सम्मेलनका लागि करीब रु एक करोड खर्च लाग्ने आयोजकको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ