धनगढी, १३ पुस ।
सात लाख धनराशीको फारवेष्ट पशुपति कपको चौथो संस्करणको उपाधिका लागि आयोजक फारवेष्ट पशुपति युवा क्लब र नाज ओभरसिज पिएफए अत्तरीया भिड्ने भएका छन् । शुक्रवार धनगढी रंगशालामा भएका सेमिफाईनलमा जित हात पार्दै दुबै टोलीले प्रतियोगितामा लगातार दोस्रो पटक फाईनलमा भेटेका हुन् । अघिल्लो बर्षको तेस्रो संस्करढामा पनि दुवै टोलीले फाईनलमा भिडेका थिए । जसमा आयोजक फारवेष्ट च्याम्पीयन वनेको थियो । नाज ओभरसिज पिएफए अत्तरीयाले भने उप विजेतामा चित्त बुझाएको थियो । दुबै टोली बीच शनिवार दिउँसो धनगढी रंगशालामा उपाधि भिडन्त हुनेछ । आयोजक फारवेष्ट लगातार दोस्रो बर्ष च्याम्पीयन हुने दाउमा रहेको छ भने पिएफए अत्तरीया अघिल्लो बर्ष फाईनलमा व्यहोरेको हारको वदला लिने दाउमा रहेको छ ।
मंसीर २९ गतेदेखि सुरु भएको प्रतियोगिताको शुक्रवार भएको पहिलो सेमिफाईनलमा नाज ओभरसिज पिएफए अत्तरीयाले बलियो प्रतिद्धन्द्धी सुदुरपश्चिम–११ स्पोर्टस क्लबमाथि २–१ को जित निकाल्यो । अत्तरीयालाई जिताउने क्रममा आशिष श्रेष्ठ नायक बने । उनले दुवै गोल गर्दै आफ्नो टोलीलाई उपाधि नजिक पुराए । पहिलो हाफमा गोल रहति बराबरी भएकोमा दोस्रो हाफको २७ औं मिनेटमा आशिषले गोल गरे । त्यसको आठ मिनेटपछि सुदुरपश्चिम ११ ले पनि गोल गर्दै खेल बराबरीमा ल्यायो । सुदुरपश्चिम ११ का लागि चेत चौधरीले दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरे । दोस्रो हाफको ३५ औं मिनेटमा पिएफएका लागि आशिषले नै व्यक्तीगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई फाईनल पुराए । उनी नै खेलको म्यान अफ द म्याच भए ।
शुक्रवार नै भएको दोस्रो सेमिफाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिताको बलियो दावेदार मानिएको सहारा युवा क्लब पहलमानपुरलाई १–० ले हरायो । खेलको एक मात्रै निर्णायक गोल फारवेष्ट पशुपतिका लागि पहिलो हाफको ५ औं मिनेटमा कमल देउवाले गरे । उनी खेलको म्यान अफ द म्याच भए । शनिवार सकिने प्रतियोगिताको विजेताले नगद चार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद १५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले नगद १० हजार पुरस्कार पाउने छन् ।