विप्लव
काठमाडौं, १३ पुस ।
सत्ता र क्रान्तिसँग सेनाको सम्बन्ध अनिवार्य हुन्छ । सत्ता जोसँग हुन्छ त्यससँग सेना अनिवार्य हुन्छ भने जसले सत्ताका विरुद्ध विद्रोह या क्रान्ति गरिरहेको हुन्छ त्यससँग पनि सेना अनिवार्य हुन्छ र हुनुपर्छ । सेनाबिनाको सत्ता र सेनाबिनाको क्रान्ति असम्भव छ । सत्ताले सेना जन्माउँछ र सेनाले सत्ता जन्माउँछ । तर बुर्जुवा वर्गले यो सच्चाइलाई लुकाउने र आफूले मात्र प्रयोग गर्न चाहन्छन् । यसलाई जस्तो हो त्यही रुपमा बुझाउने विचारक माक्र्स–लेनिन–माओहरु मात्र हुन् ।
क्रान्तिमा सेनाको सम्बन्धबारे माक्र्सले भन्नुभयो, “आजसम्म घटेका महानतम् आन्दोदनहरुमध्ये सबैभन्दा पछिल्लो आन्दोलन कम्युन हो । कम्युन मजदुर वर्गले राजनीतिक सत्तामाथि विजय प्राप्त गरेको कुराको द्योतक हो र यसमा दुई मत हुन सक्दैन । कम्युनको सम्बन्धमा धेरै कुरा गलत तरिकाले बुझाइयो । कम्युनले वर्गीय शासनको नयाँ रुपको स्थापना गर्न सकेन । श्रमका सम्पूर्ण साधनहरु उत्पादकलाई सुम्पिई उत्पीडनका विद्यमान अवस्थाहरुको उन्मूलन गरेर र यसरी शारीरिक रुपमा तन्दुरुस्त प्रत्येक व्यक्तिलाई आफ्नो जीविकाका लागि काम गर्न बाध्य गराएर हामी केवल वर्गीय शासन तथा वर्गीय उत्पीडनको आधारलाई नै समाप्त पार्न समर्थ हुन्छौं, तर यस्तो रुपान्तरण कार्यान्वित हुनुभन्दा पहिले सर्वहारा अधिनायकत्वको आवश्यकता पर्न आउँछ र त्यसको पहिलो सर्त नै सर्वहारा वर्गको सेना हो । मजदुर वर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ” (कार्लमाक्स, पेरिस कम्युन, इन्टरनेशनलको सातौ वर्षगाँठ सम्बन्धी भाषणाबाट, सन् १८७१ सेप्टेम्बर ५, पृष्ठ ३३५) ।
प्रचण्ड–बाबुरामले विघटन गरेपनि आज उनीहरुका विरुद्ध विद्रोह गर्ने इमान्दार र सचेत जनमुक्ति सेनाका कमाण्डर, सदस्य र नयाँ योद्धाहरुको सहभागितासहित जनमुक्ति सेना पुनर्गठित भएको छ । हावाले छाँटेर उठेका पहाडका वृक्षझैं प्रतिक्रान्तिको हावा खपेर नयाँ जनमुक्ति सेना पैदा भएको छ ।
त्यस्तै सेनाबारे लेनिनले भन्नुभयो, “समाजवादी सनतन्त्रालाई शस्त्रास्त्रोद्वारा रक्षा नगरेर हामी अस्तित्वमा रहन सक्दैनथ्यौं । कोही पनि सत्ताधारी वर्ग उत्पीडित वर्गलाई कहिल्यै आफ्नो सत्ता सुम्पिँदैन” (लेनिन संकलित रचना, हिन्दी संस्करण, खण्ड ८, रुसी कम्युनिस्ट पार्टी (बोल्सेबिक) का आठौं कांग्रेस, पृ. २५५) । सेनाबारे माओले उच्चरुपले संश्लेषण गर्दै भन्नुभयो, “जनताको सेना निर्माण गर्नका निम्ति संघर्ष गर्न सिंगै राष्ट्रको परम कर्तव्य हो । जनसेना नभएमा जनतासित केही पनि हुँदै । यस विषयमा फोस्रो सिद्धान्त रटाई मात्र गर्नुहुँदैन” (माओ संकलित रचना, चुनिएका रचनाहरु, संयुक्त सरकारबारे सन् १९४५, भाग ३, पृ. १९०)। उहाँले क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीसँग सेना अनिवार्य हुने विषयमा पनि जोड दिनुभयो । उहाँले क्रान्ति गर्नका लागि चाहिने तीन जादुगरी साधनमध्ये सेना एक महत्वपूर्ण साधन भएको विचार दिनुभयो । सोहीअनुरुप पछिल्लो समयका क्रान्तिकाहरु सञ्चालन हुँदै आएका छन् ।
नेपाली राजनीतिक संघर्ष र कम्युनिस्ट आन्दोलनका जनताको सेना निर्माणबारे विभिन्न बहस हुँदै आए । राणाशासनविरुद्ध विद्रोह गर्दा नेपाली कांग्रेसले विद्रोही सेना ‘मुक्ति वाहिनी’ निर्माण गरेको थियो । त्यसबेला कांग्रेसका नेता वीपीले “पुरानो सेनालाई राष्ट्रिय सेनामा बदल्न नसक्नु नै आफ्नो भूल भएको” भनेका थिए । २०२८ सालमा पूर्वमालेले झापा विद्रोहको समयमा छापामार सेना निर्माण गरेर बन्दुक उठाएको थियो । तर सबैभन्दा सशक्त प्रकारले जनयुद्धको तयारी हुँदै गर्दा र जनयुद्ध अवधिभर प्रचण्डहरुले नै सेनाबारे विषय उठाउने र मूर्तरुप दिने कार्य गरे । उनले जनमुक्ति सेनाबारे तीन विषयमा जोड दिए । पहिलो, क्रान्तिमा जनमुक्ति सेनाको अनिवार्यता । दोस्रो, राजनीतिक विचारद्वारा प्रशिक्षित जनमुक्ति सेना । तेस्रो, प्रतिक्रान्तिलाई रोक्न जनमुक्ति सेना ।
सत्ता र क्रान्तिसँग सेनाको सम्बन्ध अनिवार्य हुन्छ । सत्ता जोसँग हुन्छ त्यससँग सेना अनिवार्य हुन्छ भने जसले सत्ताका विरुद्ध विद्रोह या क्रान्ति गरिरहेको हुन्छ त्यससँग पनि सेना अनिवार्य हुन्छ र हुनुपर्छ । सेनाबिनाको सत्ता र सेनाबिनाको क्रान्ति असम्भव छ ।
जनयुद्धको तयारीका क्रममा प्रचण्डले सेनाबारे लेखेका थिए, “क्रान्तिकारी जनसेनाको निर्माण र विकासका लागि योजनवद्ध ढंगले जनयुद्धको तयारी र उठान गर्ने काममा लाग्नुपर्छ । उपर्युक्त तीन हतियारको विकास नभई नयाँ जनवादी क्रान्तिको सफलता संभव छैन” (नेपाली कम्युनिस्ट आन्दोनल र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, पार्टीको भावी कार्यदिशा, पृ. १७०)। जनयुद्धको पहल हुँदै गर्दा सेनाको महत्वबारे प्रकाश पार्दै उनले लेखे, “जनयुद्धको अनुभव र अहिले चलिरहेको प्रतिक्रियावादी सैन्य अप्रेसनले अझ तिखो रुपमा देखाएको छ कि सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन । भावी दिानहरुमा फौजी शक्तिको आडमा मात्र जनताको पहलकदमीलाई धान्न सकिने स्थिति पनि अब झन् स्पष्ट भएको छ । त्यसैले आज पार्टीको मुख्य ध्यान सेना निर्माणको प्रश्नमै केन्द्रित हुन आवश्यक छ” (नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, पृ. ४२२) । जनयुद्धको विकास क्रममा २०५७ सालमा उनले लेखे, “आज जनताको सैन्य शक्ति मुख्य, सहायक र आधारभूत सबै मिलाउँदा हजारौंबाट लाखतिर उकालो लाग्दैछ” (नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १, पृ. ५०६) ।
त्यसैगरी बाबुरामले २०५७ सालमा जनमुक्ति सेनाको विकास गर्नुपर्ने विषयमा जोड दिँदै लेखे, “देशमा क्रान्तिकारी शक्ति र प्रतिक्रान्तिकारी शक्तिबीच विशिष्ट शक्ति सन्तुलनको स्थिति बनिरहेको र वार्ता प्रकरणको अन्त्यपछि त्यसले रणनीतिक प्रत्याक्रमणको स्वरुप ग्रहण गर्न लागेको अवस्थामा जनताको फौजी शक्तिलाई गुणात्मक प्रकारले विस्तार र विकास गर्नु विल्कुल स्वभाविक मात्र नभई अपरिहार्य हुन्छ” (बाबुराम भट्टराई, नेपाली क्रान्तिका आधारहरु, पृ. १६५) ।
प्रचण्डले २०६० सालमा जनमुक्ति सेनाको शक्ति विकास भएको सन्दर्भमा जोड दिँदै लेखे, “राजमार्ग र सदरमुकाम आसपासमा केन्द्रीय कारवाही हुने कुराको पत्तो पाइसकेको दुश्मनले त्यसलाई असफल पार्ने रणनीतिका रुपमा आधुनिक हतियारसहितका ठूल्ठूला गस्ती अर्थात प्रतिविद्रोहमा विशेष तालिमप्राप्त कथित रेञ्जर फोर्सलाई समेत पुकारेर जनमुक्ति सेनाका टुकुडीहरुलाई निर्मूल पार्ने रणनीतिको विकास गर्यो । तर जनमुक्ति सेनाको उच्च मनोबल, आक्रमक रणनीति र क्रान्तिकारी रणकौशलका अगाडि दुश्मनको त्यो रणनीति पनि पहिलो चरणमा नै धुलाेपिठो हुन पुग्यो” (नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १, पृ. ५५४) ।
प्रचण्डले जनमुक्ति सेनाको विकासबारे २०६२ सालको शान्तिप्रक्रियामा प्रवेश गर्दा लेखे, “महिनौंसम्म तराई र राजमार्गबाट शाही जत्थालाई भ्याकुर लखेटाई गरेर ब्यारेकहरुमा कैद पारी जनमुक्ति सेनाले आफ्नो आक्रमकता र श्रेष्ठता मात्र सावित गरेन, वस्तुतः ती स्थानहरुलाई आफ्नो कब्जामा राख्न समेत सफल भयो । सानाठूला सयौं आक्रमणद्वारा शाही जत्थालाई जनमुक्ति सेनाले थिलथिलो पारेपछि तथा पार्टीको राजनीतिक हस्तक्षेप र जनपरिचालनद्वारा सामन्ती पुरानो सत्ता अस्तव्यस्त बनेपछि आफ्नो अस्तित्व रक्षार्थ अन्तिम र मूर्खातापूर्ण उपायका रुपमा ज्ञानेन्द्र शाहीको सामन्ती गिरोहको माघ १९ को कदम माघ १९ मै चालेको कुरा स्पष्ट हुन आउँछ”, (नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १, पृ. ५७६) ।
सत्ताले सेना जन्माउँछ र सेनाले सत्ता जन्माउँछ । तर बुर्जुवा वर्गले यो सच्चाइलाई लुकाउने र आफूले मात्र प्रयोग गर्न चाहन्छन् । यसलाई जस्तो हो त्यही रुपमा बुझाउने विचारक माक्र्स–लेनिन–माओहरु मात्र हो ।
प्रचण्डले २०६३ सालमा प्रतिक्रियावादीको षडयन्त्र कस्तो छ भन्ने विषयलाई उल्लेख गर्दै लेखे, “हतियार नबुझाएसम्म ने.क.पा. (माओवादी)लाई कुनै राजनीतिक मान्यता खिने, यो निर्देशन १२ बुँदे समझ्दारी र ८ बुँदे सहमतिका विरुद्ध मात्र होइन, नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनका विरुद्ध एक गम्भीर षडयन्त्रसमेत भएको कुरा माथि स्पष्ट गरिसकिएको छ” (उही, पृष्ठ ५८६) । त्यसपछि उनले २०६४ मा पनि जनमुक्ति सेनाको महत्वमाथि जोड दिँदै लेखे, “अस्थायी शिविरमा रहेको जनमुक्ति सेनालाई वैचारिक, राजनैतिक र भौतिक रुपले प्रशिक्षित गरी देशमा कुनैपनि बेला उत्पन्न हुन सक्ने कुनैपनि प्रकारको प्रतिगामी सैनिक षडयन्त्रको मुकाविलाका लागि तयारी अवस्थामा राख्न जोड गर्नुपर्दछ” (उही, पृ. ६११) ।
निकृष्ट बेइमानी ! प्रचण्डहरु शान्तिप्रक्रियामा आउँदा नै एकखालको आत्मसमर्पणवादी सम्झौता गरिसकेका थिए । उनले जनमुक्ति सेनाबारे पार्टीमा २०६६ सालसम्म जस्ता क्रान्तिकारी तर्क गरिरहेका थिए, ती केवल क्रान्तिकारी नेता, कार्यकर्ता र जनसेनालाई भ्रम दिन, अलमल पार्न र भित्रभित्रै भ्रष्ट पार्नका लागि समय खोज्न मात्र गरिरहेका थिए । समय लम्बिदै र पाटीं पंक्तिमा आर्थिक, नैतिक, साँस्कृतिक विचलन चुलिँदै गरेपछि जनमुक्ति सेनाबारे समायोजन र पुनस्र्थापनाजस्ता भ्रमपूर्ण विषयहरु ल्याउन थाले । समायोजनको सन्दर्भमा पहिले उनले असम्भव रहेको तर्क गर्थे । प्रचण्डले जनसेना शिविरमा बसेर क्रान्तिको तयारी गर्नेबारे यसतिसम्म पनि भने कि, “बोराका बोरा पैसा, ट्रकका ट्रक हतियार आउनेवाला छ ।” त्यो कहाँबाट नेपाली सेनाको हातमा पुगेपछि र कटुवाल प्रकरण घटेपछि टेलिभिजनहरुमा प्रचार हुँदा नेपालको राजनीतिलाई हिलायो पनि । तर अनौठो के भयो भने प्रचारमा देश हिलेपनि भित्रभित्र त्यसबाट प्रचण्ड नराम्रोसँग हल्लिन पुगे । उनले पहिलो संविधानसभाको चुनावसम्ममा पनि जनमुक्ति सेनालाई राष्ट्रिय सेनाको स्तरमा संस्थागत नगर्दासम्म संविधान नै नबन्ने तर्क गर्दै हिँडे । जनमुक्ति सेनाका कमाण्डर र सदस्यहरुलाई चित्त बुझाउनका लागि जनमुक्ति सेना त्याग्नु भनेको आत्महत्या गर्नुसरह हो सम्मन भने । जनमुक्ति सेनालाई या स्वतन्त्र एकाइका रुपमा या सम्पूर्णरुपले स्वीकार्ने गरी समायोजन भन्ने तर्क गरे ।
तर पछि २०६७ सालमा लेखे, “सुरक्षा निकायमा समायोजन गरिने जनमुक्ति सेनाको संख्या निर्धारणका लागि विशेष समितिले शिविरमा गई प्रत्येक जनमुक्ति सेनाका योद्धाहरुलाई सोधेर स्वेच्छिक ढंगले समाज वा राजनीतिक जीवनमा जान चाहने र एकमुष्ठ पुनस्र्थापना कार्यक्रम स्वीकार्न चाहनेहरुलको संख्या छुट्याउनुपर्दछ । साथै शारीरिक अशक्तताका कारणबाट सुरक्षा निकायमा क्रियाशील हुन नसक्नेहरु संख्या पनि छुट्याउनुपर्छ । ….. हाम्रो पार्टीको दृष्टिकोणमा समायोजन भनेको जनमुक्ति सेनाका योद्धाहरुलाई समावेश गरी राज्यको अर्को विशेष सुरक्षा निकाय वा सुरक्षा बल गठन गर्नु समायोजनको सन्र्भमा सबैभन्दा सरल, सजह र उपयुक्त मोडेल हुन सक्दछ” (नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, ग्रन्थ १, पृ. ६८३) ।
यसको अनुभव, ज्ञान, उद्देश्य र आदर्शलाई नाप्दा यो सेना अपराजित जनसेना बन्नेछ, र यसले नेपाली क्रान्तिलाई पूरा गर्दै विश्वक्रान्तिको सेवा गर्नेछ ।
प्रचण्डले राजनीतिक दृष्टिकोण परिवर्तन गर्न थालेपछि हामीले जनमुक्ति सेनालाई सचेत हुन अपिल पनि गर्यौं । तर प्रतिक्रान्ति रोक्ने भन्दै हिँड्ने जनमुक्ति सेनाको उपल्लो दर्जाका केही क्रान्तिकारी कमरेडहरुलाई छाडेर धेरैमा अनौठोखाले प्रतिक्रान्तिकारी क्रियाकलापहरु हुर्किए । मुखले केही क्रान्तिका कुरा गरे पनि त्यो केवल प्रचण्डसँग फाइदा लिनका लागि मात्र बोल्ने खालको देखियो । जब उपल्लो दर्जाका कमाण्डरहरु आर्थिक र साँस्कृतिक रुपले अकल्पनीय प्रकारले भ्रष्ट र अनैतिक हुन थाले । उनीहरुले त जनमुक्ति सेनाभित्र कराडौंको भ्रष्टाचार गर्न र नीजि फाइदा सोहोर्न पुगे र जनमुक्ति सेनालाई क्रान्तिका विरुद्ध पो प्रयोग गर्न खोजे । उनीहरुले जनमुक्ति सेनालाई प्रचण्ड–बाबुरामसँग मिलेर कमिशन खाने साधन बनाए । प्रचण्डले कमान्डरको एउटा हिस्सामा पैदा भएको यो विचनलाई बुझेर नै २०६८ सालमा लेख्न पुगे, “शान्तिसम्झौताको मर्मअनुसार सम्मानजनक ढंगले सेना समायोजन र पुनस्र्थापना गरी शान्तिप्रक्रियालाई समुचित निस्कर्षमा पुर्याउनु आजको आवश्यकता हो” (ऐऐ, पृ. ७३४) । यो भनेको जनमुक्ति सेनालाई बिसर्जन गर्ने दिशामा लैजाने विचलनको स्पष्ट संकेत थियो ।
नचिताएको कुरा ! प्रचण्डले २०६९ सालमा पुग्दा जनमुक्ति सेनालाई सम्पूर्ण रुपले बिसर्जन गर्न पुगे । उनले त कति गद्दारी गरेभने जनमुक्ति सेनालाई विगतका सेना समायोजनसम्बन्धी सम्पूर्ण भनाई, मान्यताबाट पनि च्यूत गराउँदै एउटा सानो हिस्सालाई मात्र नेपाली सेनाभित्र घचेटेर र अरु सबैलाई रुवाउँदै बिसर्जन गर्ने कार्य गरे । त्यो कार्यप्रति पार्टीका इमान्दार नेता कार्यकर्ता र जनमुक्ति सेनाका कमरेडहरुले विरोध गरेपछि जनमुक्ति सेनाको ब्यारेकमा नेपाली सेनाद्वारा राति ११ बजेको समयमा शिविर कब्जा गर्न लगाए । मुक्तिको कसम खाएर जनयुद्धमा होमिएका र विजयी बन्दै गएको जनमुक्ति सेनालाई रगतद्वारा साटिएका हतियार र पोशाक किलामा झुण्डयाउन लगाए र उनीहरुलाई रुवाउँदै पुरानै सत्ताभित्रको जीवनमा फर्काइदिए । एकप्रकारले बेचेर खाए भन्न सकिन्छ । जनमुक्ति सेनाको बिसर्जनलाई ढाकछोप गर्न प्रचण्डले आफ्नो २०६९ सालको (पार्टी विभाजन भइसकेपछि) दस्तावेजमा लेखे, “सेना समायोजनमा हदैसम्म लचिलो हुनुका पछाडि पार्टी र सरकारको उद्देश्य संविधान निर्माणमा सिंगो देशको ध्यान केन्द्रित गराएर प्रतिक्रियावादी, संशोधनवादी, यथास्थितिवादीहरुमाथि राजनीतिक दबाब सृष्टि गर्नु नै थियो” (ऐऐ, पृ. ६६६) । यो परिघटनाले सावित गर्याे कि क्रान्ति र प्रतिक्रान्तिको मुख्य आधार पार्टी र पार्टी नेतृत्व हो, अन्य सबै राज्यका साधनहरु त्यसका सहयोगी मात्र हुन सक्दछन् ।
इतिहास निर्मम हुन्छ ! केही मुर्खहरुले के ठान्छन् भने जनताको तागतद्वारा निर्माण हुने र जनताको मुक्ति नभएसम्म अनिवार्य रुपमा अगाडि आउने साधनहरुलाई उनीहरुको आदेशद्वारा समाप्त पार्न सकिन्छ । तर व्यवहारिक परिणाममा क्रान्तिकारी साधनहरुको होइन, गद्दारी गर्नेहरुको समाप्ति हुन्छ । जनमुक्ति सेनाको सन्दर्भमा पनि यस्तै भएको । प्रचण्ड–बाबुरामहरुले विघटन गर्दैमा जनमुक्ति सेना विघटन हुँदैनथ्यो र भएन पनि । बरु, प्रचण्ड–बाबुराको समप्ति भयो । क्रान्तिको आवश्यकता हुँदासम्म जनमुक्ति सेनाको आवश्यकता अनिवार्य छ ।
यो सच्चाइ पुष्टि गर्दै आज क्रान्तिकारीहरुको पहलमा पुनः क्रान्तिकारी जनमुक्ति सेना पुनर्गठित भएको छ । प्रचण्डका विरुद्ध विद्रोह गर्ने इमान्दार र सचेत जनमुक्ति सेनाका कमाण्डर, सदस्य र नयाँ योद्धाहरुको सहभागितासहित जनमुक्ति सेना पुनर्गठित भएको छ । हावाले छाँटेर उठेका पहाडका वृक्षझैं प्रतिक्रान्तिको हावा खपेर नयाँ जनमुक्ति सेना पैदा भएको छ । यसको अनुभव, ज्ञान, उद्देश्य र आदर्शलाई नाप्दा यो सेना अपराजित जनसेना बन्नेछ, र यसले नेपाली क्रान्तिलाई पूरा गर्दै विश्वक्रान्तिको सेवा गर्नेछ ।
(महापतनबाट साभार गरिएको हो)