१२ पुस, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेता बन्दै नयाँ ईतिहास रचेको छ ।
ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो ।
यसपछि खेल्न बाकीँ रहेका दुबै खेल आफ्नो पक्षमा नरहे पनि मनाङ विजेता बन्नेछ । लगातार ११ औं खेलमा जित हात पार्दै मनाङले लिगको उपाधि जित्नुका साथै एउटा अनौठो इतिहास पनि रचेको छ ।
मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।
मनाङलाई रोक्न सकेको भए संकटा र थ्रीस्टारको पनि उपाधि यात्रा कायमै रहेने थियो । पहिलो हाफमा एक गोलले अघि रहेको मनाङले खेलको दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो ।
पहिलो हाफको अतिरिक्त समयमा कर्नरबाट विशाल राईले प्रहार गरेको बल संकटाका गोलकिपर राजा बाबुले बचाउन खोज्दा गोलमा परिणत भएको थियो । खेलको ८१औं मिनेटमा मनाङका तर्फबाट पुजन उपरकोटीले दोस्रो गोल गर्न सफल भए ।
खेलको ८७औं मिनेटमा अडेलजा सोमिडेले गोल गर्दै मनाङलाई तेब्बर अग्रता दिलाए ।
खेलको ९०औं मिनेटमा संकटा क्लबका सेड्रिक अबाले गोल गर्दै ३(१ को स्थितिमा त र्पुयाएपनि हार टर्न सकेन ।
जितसँगै मनाङले ११ खेलबाट ३३ अंक बनाउँदै उपाधि कब्जा गरेको हो । अझै मनाङले लिगका दुई खेल खेल्न बाँकी नै छ । मनाङले उपाधि जितेसँगै अब दोस्रो र तेस्रो स्थानका लागि थ्रीस्टार, संकटा र आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
पराजित भएको संकटाको ११ खेलबाट २५ अंक रहेको छ भने १० खेल खेलेको थ्रीस्टारको २३ अंक रहँदा चौथो स्थानमा रहेको आर्मीको १८ अंक रहेको छ ।