दाङ, ७ पुस ।
राप्तीराज मार्ग अन्र्तगत दाङ तुलसीपुर उपहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका २३ जनाकै सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १÷१ जना रहेका छन् । घटना स्थलमै २२ जना र दुर्घटनामा परि गम्भिर घाईते भएका जुम्ला जिल्लाको कन्कासुन्दरी गा.पा.५ बस्ने बर्ष २० को बिरेन्द्र कन्डराको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा शनिवार विहान ८ वजेतिर ज्यान गएपछि ज्यान जानेको संख्या २३ पुगेको थियो । दुर्घटनामा परि १९ जना पुरुष र ४ जना महिलाको ज्यान गएकोे हो ।
सनाखत हुनेमा बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे,विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।
त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल,सोहि नगरपालिका वडा नम्वर ३ घर भएका १७ बर्षिय हिम्मत बोहरा, सोहि वडाका १८ बर्षका अर्जुन शाही, वडा नम्वर १० घर भएका १८ बर्षीय रुपेश शाही, सोहि वडाका बिपना खत्री , वडा नम्वर १४ का १७ बर्षीय रितेन्द्र शाही, वडा नम्वर ५ का देवीप्रसाद उपाध्याय,सोहि जिल्लाको हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, तिला गाउँपालिका १ का जंगबहादुर बिक, सोहि गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।
त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि ज्यान गएकोे हो ।
दुर्घटनामा परि घाईते भएका १४ जना मध्ये १२ जनाको थप उपचारका लागी नेपालगन्जबाट काठमाडौ पठाईएको छ भने अन्य दुई जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन अवलोकन गरेर फर्कने क्रममा शुक्रवार वेलुकी ५ वजेतिर उक्त बस दुर्घटना भएको हो ।
नमस्ते राप्ती यातायात प्रालिद्धारा सन्चालित बा ४ ख ९७६६ नम्बरको बस शिक्षालयले भ्रमणका लागी रिर्जभ गरेर लगेको थियो । यसैविच जुम्लाका ६ वटा र डोल्पाको एक वटा शव तुलसीपुरबाट नेपाली सेनाको हेलिकप्टर मार्फत सम्वन्धित जिल्लामा पठाईएको जिल्ला प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिएका छन् ।