फुटबलको उर्वरभुमी मानिने कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ को उपाधिका लागि आयोजक मदरल्याण्ड युवा क्लब र सुदुरपश्चिम– ११ प्रतिस्पर्धा गर्ने भएका छन् । आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि शनिवार भिड्ने भएका हुन् ।
आज भएको पहिलो सेमिफाईनलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले पिएफए अत्तरीयालाई १–० ले हराउँदै फाईनल प्रवेश गरेको हो । खेलको एक मात्रै निर्णायक गोल सुरेश रानाले पहिलो हाफको ११ औं मिनेटमा गरे । उनी खेलको म्यान अफ द म्याच भए ।
आज नै भएको दोस्रो सेमिफाईनलमा आयोजक मदरल्याण्ड युवा क्लव ए ले फारवेष्ट पशुपतिलाई ३–१ ले किनारा लगाए । घरेलु टोलीलाई उपाधि नजिक पुराउन जीवन चौधरी नायक वने । उनले दोस्रो हाफमा तीन गोल गर्दै ह्याट्रिक पुरा गरे । जीवनले दोस्रो हाफको १७ औं, ३० औं र अतिरिक्त समयको २ मिनेटमा गोल गरे । फारवेष्ट पशुपतिका लागि भने दोस्रो हाफको ११ औं मिनेटमा चेतन कठायतले गोल गरेका थिए । मदरल्याण्डका जीवन चौधरी म्यान अफ द म्याच भए ।
प्रतियोगिताको उपाधिका लागि शनिवार खेल हुने आयोजकले जनाएको छ । मदरल्याण्ड युथ क्लबको आयोजनामा भईरहेको प्रतियोगिता पुस ७ गते समापन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् ।