काठमाडौं, २ पुस ।
नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) चितवनको प्रथम भेलाले भेला आयोजक समितिको संयोजकमा निखिललाई चयन गरेको छ ।
भरतपुरमा सम्पन्न भेलाले निखिलको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । ‘किसान आन्दोलनलाई नयाँ उचाइमा उठाऔं, दलाल र भूमाफियाको सम्पत्ति राष्ट्रियकरण गरौं’ मुख्य नारासहित सम्पन्न भएको भेलाका प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष राजु कार्की रहेका थिए ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले वर्तमान सरकार दलालहरुको इसारामा बनेको भन्दै दलाल राज्यसत्ताले किसानहरुलाई राहत दिन नसक्ने बताए । ‘यसप्रकारका सत्ताले राहत दिनुको सट्टा उल्टै उत्पादन मूल्य घटाई किसानलाई संकटमा पार्नेबाहेक केही गर्न सक्दैन’ उनले भने ‘त्यसकारण यसलाई भत्काएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको गर्नुको विकल्प छैन ।’
अब किसानहरु संगठित भई दलाल सत्ताविरुद्ध सशक्त रुपमा संघर्षमा उत्रन अपिल समेत गरे । किसान क्रान्तिको पहिलो शक्ति भएको बताउँदै हक हित र अधिकार स्थापित गर्नको लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्न आग्रह गरे ।
भेलामा नेकपाका पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधार, जिल्ला सेक्रेटरी ध्रुव, कार्यालय सचिव प्रेम चौधरीलगायत नेताहरुको उपस्थिति रहेको थियो । भेलामा कार्यालय सचिव हरि श्रेष्ठले बधाई मन्तव्य राखेका थिए । भेला शनिबार सम्पन्न भएको हो ।
नेकपाको जनवर्गीय संगठन तथा पेशागत संगठनहरुको देशभर भेला, सम्मेलन चलिरहेको छ । साथै कम्युनिस्ट अभियान पनि संचालन भइरहेको छ ।

